पूराना लगानीकर्ता भन्छन्ः सेयर थप्ने यो गज्जब अबसर हो




काठमाडौं । २०६२ सालतिर २ सय कित्ता सेयर किनेर सेयर बजारमा पाइला चाहेका राजु आचार्य सेयर बजार घटे पनि बिचलित भएका छैनन् ।

उनले सिद्धार्थ बैंकको सेयर प्रतिकित्ता ६ सय रुपैयाँमा किनेका थिए । अहिले सो बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ३ सय रुपैयाँको हाराहारीमा झरेको छ ।

आचार्यले बैंक अफ काठमाडूको सेयर प्रतिकित्ता २ हजार ३ सय ९५ रुपैयाँमा किनेका थिए । सो बैंकको सेयर अहिले घटेर ३५० रुपैयाँ प्रतिकित्ताको हाराहारीमा छ ।

क्रिष्टल कन्चनजंगा सेक्युरिटीजमा नेप्से परिसुचक हेरेर बसिरहेका उनी हाल १ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने लगानीकर्ता भएका छन् । नेप्से परिसुचक घट्न थालेपछि आफूले अहिलेसम्म ३० प्रतिशत घाटा खाएको उनले सुनाए ।

‘मैले ३० प्रतिशतभन्दा बढी गुमाई सकेको छु, तर पनि म डराएको छैन, सेयर बजार न हो, घट्छ बढ्छ, यसको फाइदा उठाउन सक्नु पर्छ, यस्तो बेला डराउने हैन, सेयर किन्ने हो’ आचार्यले भने ।

नेपाली सेयर बजारमा वित्तीय क्षेत्रको प्रभाव ७५ प्रतिशतभन्दा बढी छ । यही बेलामा बैंक तथा वित्तीय संस्थाको सेयर आपूर्ति पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी कम्तिमा पनि ४ गुणाले बढाउने राष्ट्र बैंकको नीतिका कारण हकप्रद, एफपिओ र बोनस सेयरका कारण वित्तीय क्षेत्रको सेयर आपूर्ति बढेको हो । यस्तै अबस्था बीमा कम्पनीहरुको पनि छ । वित्तीय क्षेत्रको सेयर आपूर्ति बढेका कारण सेयर बजार केही झरेको लगानीकर्ताको बुझाइ छ ।

कालिका सेक्युरिटीजमा सेयर लगानीकर्ता रामप्रसाद अमागाई भेटिए । उनी बैंक तथा वित्तीय संस्थामा तरलता अभावको कारण कर्जा रोकिएकोले सेयर बजार घटेको मान्छन् ।

उनी १० वर्ष अघि स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ सय कित्ता सेयर किनेर सेयर बजारमा प्रबेश गरेका थिए । अहिले घटेको बजारलाई उनी नयाँ लगानीकर्ता थपिने सुनौलो अबसरको रुपमा लिन्छन् ।

कालिकामै नेप्से हरियो रंगमा जाने प्रतिक्षामा बसिरहेका निरज न्यौपाने नयाँ लगानीकर्ता कम भएका कारण नेप्से घटेको बताउछन् ।

‘सेयर बजार घटेको मौकामा नयाँ लगानीकर्ता बढ्नु पर्नेमा पुराना लगानीकर्ताले पनि आत्तिएर सेयर बेच्ने गरेका कारण बजार यसरी ह्वातै घटेको हो’ न्यौपानेले भने ।

क्रिष्टल कन्चनजंगामा भेटिएका प्रेम रावलले ७ वर्ष अघि नेपाल इन्भेष्टमेन्ट बैंकको २ सय कित्ता सेयर किनेर बजार प्रवेश गरेका थिए । बजार प्रवेश गर्दा उनले प्रतिकित्ता १७ सय रुपैयाँमा किनेको सो बैंकको सेयर अहिले प्रतिकित्ता ६५० रुपैयाँको हाराहारीमा छ ।

तर, उनी बजार घटेको मौका छोपेर सेयर थपिरहेका रहेछन् ।

‘भर्खरै मैले १९ हजार कित्ता किनेको छु, बजार घट्दा दुःख त लाग्छ, तर चाढै बढ्छ नि,’ उनी भन्छन् ।

क्रिष्टल कन्चनजंगामै भेटिएका बासु श्रेष्ठ सेयर बजारमा प्रवेश गरेको ४ बर्ष भएछ । उनले ४ वर्षअघि रिडी हाइड्रोपावरको १ सय कित्ता सेयर किनेका थिए । उनले प्रतिकित्ता ७६० मा किनेको सेयरको मूल्य अहिले प्रतिकित्ता १२८ रुपैयाँ छ । तर, पनि लगानी गर्ने मान्छे चाढै हडबढाउनु नहुने उनको भनाइ छ ।

बजार घटेको बेलामा पुराना लगानीकर्ता आफूले सकेजनि सेयर किनिरहेका रहेछन् । श्रेष्ठले पछिल्लो समय थप ७५ लाख रुपैयाँ लगानी थपेका छन् ।

‘सेयर बजारमा दीर्घकालिन कारोबार गर्नेलाई राम्रो छ तर, आज लगानी गरेर भोलि नै फाइदा खोज्ने हो भने गाह्रो पनि छ,’ उनले आफ्नो विश्लेषण सुनाए ।

सेयर बजारका लगानीकर्ता कलेजका एमडीदेखि भेटनेरियनसम्म
हामीले कालिकामा भेटेका रामप्रसाद अमागाई पहिला कलेजका एमडी थिए । काठमाडौंको इलिक्वीड कलेजको एमडी पद छोडेर सेयर बजारमा लागेको उनी बताउँछन् ।

उनी ५० लाख रुपैयाँ लगानी गर्दै सेयर बजार प्रवेश गरेका थिए ।

क्रिष्टलमा भेटिएका राजु आचार्य भेटनेरियन हुन् । बजार घट्नु आफ्नो लागि सेयर थप्ने अबसर हो भन्दै उनी दैनिक २ लाख रुपैयाँ जतिको सेयर थपिरहेका रहेछन् ।

सेयर बजार सुधारका लागि के गर्नु पर्ला ?
नेप्से परिसुचक घटिरहेको छ । सेयर बजार सुधारका लागि सेयरधितो कर्जा बढाउनु पर्ने लगानीकर्ता राजु आचार्यको भनाइ छ । उनले अहिलेको ५० प्रतिशतको सीमालाई बढाएर ७० प्रतिशत बनाउनु पर्ने बताए ।

अर्का लगानीकर्ता बासु श्रेष्ठको बुझाइमा सरकारी निकायबाट यसको गहन अध्ययन र अनुसन्धान गरी बजारलाई सकारात्मक प्रभाव पार्ने नीति नियमहरु ल्याउनु पर्छ ।


क्लिकमान्डु