प्रयोगकर्ताको तथ्यांक चोरीको घटनाले फेसबुकका मालिक जुकरबर्गको सम्पत्ति एकैदिन ५ खर्बले घट्यो



फेसबुक प्रयोगकर्ताको तथ्यांक गलत प्रयोगको विषयले लोकप्रिय सामाजिक संजाल फेसबुकका मालिक मार्क जुकरबर्गको सम्पत्ति ५ अर्ब अमेरिकी डलरभन्दा बढीले घटेको छ ।

विश्वमा अर्बपतिको सूचि सार्वजनिक गर्ने फोब्र्सका अनुसार फेसबुकका प्रयोगकर्ताको तथ्यांक गलत तरिकाले प्रयोग भएको घटनासँगै मार्कको सम्पत्ति ५.१ अमेरिकी डलरले घटेको छ । फोब्र्सको रियलटाइम सूचि अनुसार उनीसँग अहिले ६७.७ अर्ब अमेरिकी डलरको सम्पत्ति छ ।

केही दिन अगाडि फोब्र्सले सार्वजनिक गरेको सन् २०१८ को अर्बपतिको सूचिमा जुगरबर्ग ७१ अर्ब अमेरिकी डलरको सम्पत्तिसँगै पाँचौ स्थानमा थिए । डाटाको गलत प्रयोगको विषय बाहिरिएसँगै अमेरिकी सेयर बजारमा फेसबुकको सेयर मुल्य ओरालो लागेको छ । जसले गर्दा जुकरबर्गको सम्पत्ति घटेको हो ।

सन् २००४ मा स्थापना भएको फेसबुक अहिलेको सबैभन्दा बढी शक्तिशाली सामाजिक संजाल हो । यो पटक भने फेसकुलाई सबैभन्दा बढी गम्भिर आरोप लागेको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकी राष्ट्रपतिको निर्वाचन र बेलायतले युरोपियन युुनियनबाट बाहिरिने निर्णयको लागि गरेको जनमत संग्रहमा फेसबुकका प्रयोगकर्ताको निजी जानकारी गलत तरिकाले प्रयोग कुरा बाहिर आएको छ ।

५ करोड फेसबुक प्रयोगकर्ताको निजी जानकारीलाई निर्वाचनको बेला गलत तरिकाले प्रयोग गरिएको विषय सार्वजनिक भएको हो ।

फेसबुक र डाटाको व्यवसाय गर्ने कम्पनी क्याम्ब्रिज एनलाइटिकलाई व्यक्तिको निजी जानकारीसँग जोडिएको तथ्यांक गलत तरिकाले प्रयोग गरेको आरोप लागेको छ ।

अन्तराष्ट्रिय संचारमाध्यमका अनुसार क्याब्रिज एनलाइटिकले फेसबुकबाट मिलेको डाटाको प्रयोगले सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचन र बेलायतमा ब्रेजिक्टको विषयमा भएको जनमत संग्रहलाई प्रभावित गरेको आरोप छ ।
क्याम्ब्रिज एउटा बेलायती कम्पनी हो । जसका मालिकले सन् २०१६ को अमेरिकी राष्ट्रपतिको निर्वाचनमा रिपल्बिक पार्टीका उम्मेद्वार डोनाल्ट ट्रम्पलाई ठूलो रकम सहयोग गरेका थिए ।

समाचारमा जनाइए अनुसार क्याम्ब्रिज कम्पनीले फेसबुकका प्रयोगकर्ताको एकाउन्टन्समा राखिएको जानकारी बिना अनुमति प्रयोग गरेका थिए । यसको लागि कम्पनीले यस्तो सफ्टवेयरको प्रयोग गरेको थियो जसले व्यक्तिको राजनीतिक आस्थाको बारेमा जानकारी लिन सकियोस ।

बेलायतको समाचार च्यानल ‘न्यूज ४’ले डाटा एनलाइसिस फर्म क्याम्ब्रिज एनलाइटिक्सको अधिकारीलाई भेट्नको लागि अन्डरकवर रिपोर्टर पाठाएको थियो ।

रिपोर्टरले कम्पनीका अधिकारीसँग आफुलाई श्रीलंकाको व्यवसायीको रुपमा प्रस्तुत गरेर देशको स्थानीय चुनावलाई प्रभावित गर्ने विषयमा राय मागेका थिए ।

क्याम्ब्रिज एनलाटिक्सका बोस एलेक्जडर निक्सले स्टिङ अपरेशनमा रिपोर्टरसँग खुला रुपमा आफ्नो कम्पनी राजनीतिक विरोधनीलाई नोक्सान पुर्याउने बताएका थिए । राजनीतिक विरोधीको छवी खराब बनाउन नोक्सान पुर्याउन सक्ने उनले बताएका छन् ।

सन् २०१४ मा फेसबुकले एउटा क्विजबाट प्रयोगकर्ताको व्यक्तिगत जानकारी जान्ने मौका दिएको थियो ।
यो क्विज क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एलेक्जन्ठर कोगानले बनाएका थिए ।

सो समयमा फेसकुबमा चलेको एप्स र गेमबाट क्विजमा भाग लिएका व्यक्तिको जानकारीसँगै उनीहरुको साथीको समेत जानकारी लिइएको थियो । अहिले फेसबुकले यसमा परिर्वतन गरिसकेको छ ।

क्याम्ब्रिज एनलाटिक्समा काम गरेका क्रिस्टोफर वाइलीले यो क्विजमा २ लाख ७० हजारले भाग लिएको र ५ करोड व्यक्तिको व्यक्तिगत जानकारी उनीहरुको स्विकृति बिना लिइएको बताए । यो क्विजमा भाग लिने धेरै व्यक्ति अमेरिकी थिए ।

वाइली यो डाटा क्याम्ब्रिज एनलाइटिकलाई बिक्री भएको र उनीहरुको राजनीतिक विचारको आधारमा फेसबुकको विज्ञापनको माध्यमबाट उनीहरुलाई पुर्याएको बताए ।

यद्यपी कम्पनीले यो आरोपको विषयमा अस्विकार गरेको छ । फेसबुकका मालिक मार्क जुगरवर्गले पनि अहिलेसम्म यो विषयमा केही बताएका छैनन् ।

यो घटनाले फेसबुक प्रयोगकर्ताको व्यक्तिगत जानकारी चोरी हुने र गलत तरिका थप प्रयोग हुन सक्ने चिन्ता बढाइदिएको छ । अमेरिकी कंग्रेसमा यो विषयको अनुसन्धान हुनपर्ने माग उठेको छ ।


क्लिकमान्डु