विश्वव्यापार संगठनले मुलुकको अवस्था अनुसार विशेष कार्यक्रम लागू गर्नुपर्ने- मन्त्री यादव



काठमाडौं । भारतको नयां दिल्लीमा मार्च १९ र २० मा आयोजना गरिएको विश्व ब्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठक विश्वव्यापार प्रणालीमा वार्ताको क्रममा रहेका विषय र नयां मुद्धाको सम्वन्धमा छलफल गरी सम्पन्न भएको छ ।

सो मन्त्रीस्तरीय सम्मेलनमा ४५ सदस्य राष्ट्रका वाणिज्यमन्त्री तथा उच्च स्तरका प्रतिनिधिहरु साथै विश्वव्यापार संगठका महा निर्देशकको सहभागिता रहेको थियो ।

बैठकलाई नेपालको तर्फबाट सम्वोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले विश्वव्यापार संगठनलाई सबै सदस्य मुलुकहरुको निमित्त सान्दर्भिक र उपयोगी तुल्याउन मुलुकहरुको व्यापार र विकासको अवस्था अनुसार विशेष र फरक व्यवहारका साथै लक्षित कार्यक्रमहरु लागू गर्नुपर्ने भनाई राखेका छन् ।
नेपालजस्ता सीमित उत्पादन क्षमता भएका अतिकम विकसित भूपरिबेष्ठित सदस्य राष्ट्रहरुले विभिन्न प्रकारका गैर–कर अवरोधहरु सामना गर्नु परेको र केवल अरुको निमित्त निर्वाध बजार बनिदिनु परेको मन्त्री यादवको भनाई छ ।

साथै, मन्त्री यादवले विश्वव्यापार प्रणालीमा सुधारका लागि विगतका विभिन्न बैठकमा भएका निर्णय र घोषणाहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।
विकासशील र अतिकम विकसित मुलुकहरुको हित संरक्षण गर्न गम्भीरतापूर्वक कदमचाल्नु पर्ने, व्यापार सम्वन्धी नयां विषयहरु उठान गर्दा अतिकम विकसित देशहरुको निमित्त विशेष व्यवस्था गर्नुपर्ने उनले बताए ।

यस्ता विषयहरु सहमतिका आधारमा अघि बढाउने, बहुपक्षीय व्यापार प्रणालीका विवाद समाधान लगायतका स्तम्भहरुको सम्वद्र्धन गर्ने र नियममा आधारित स्वतन्त्र र स्वच्छ विश्वव्यापार प्रणालीबाट साना–ठूला, धनी–गरिब सबै मुलुकहरुले समान किसिमले लाभ लिनसक्ने वातावरण सिर्जना गर्नुपर्ने उनको जोड थियो ।

बैठकमा मुख्य रुपमा यसअघि एघारौ मन्त्रिस्तरीय बैठकमा निर्णय हुन नसकेका विषय र विश्व व्यापार संगठनको विवाद निरुपण संयन्त्रमा सदस्य नियुक्तिको अवरुद्ध प्रक्रियालाई अघि बढाउने बारेमा विभिन्न मुलुकका उद्योग तथा वाणिज्य मन्त्रीहरुले आआफ्नो धारणा राखका थिए ।

बैठकको समापन गर्दै आयोजक राष्ट्र भारतका उद्योग तथा वाणिज्य मन्त्री सुरेश प्रभुले सदस्य राष्ट्रहरुले बैठकमा व्यक्त गरेका विचारहरुले विश्वव्यापार संगठनका अनिर्णित र समाधान गर्न बांकी रहेका विषयहरुलाई टुंग्याउन मार्गदर्शन प्रदान गर्ने र विश्वव्यापार संगठनलाई सवलीकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सहभागी वाणिज्यमन्त्रीहरुलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संवोधन गरेका थिए । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले प्रधानमन्त्री मोदीसंग संक्षिप्त भेट गरेका थिए ।


क्लिकमान्डु