जलविद्युत् कम्पनीका सेयर मुल्यः केही आइपिओ भन्दा सस्तो, केही एफपिओभन्दा कम



काठमाडौं । नवनियुक्त ऊर्जामन्त्री वर्षमान पुनले हाइड्रो पावरको सेयर हुनेलाई खोजी खोजी छोरी दिन मिल्ने बनाउने अभिव्यक्ति दिए ।

सामाजिक संजाल तथा सेयर बजारका विभिन्न ग्रुपमा यसको बारेमा विभिन्न खालका धारणा आएका छन् ।

नेपाल स्टक एक्सचेन्जमा अहिले १७ वटा जलविद्युत् कम्पनीको सेयर सूचिकृत रहेको छ ।

सेयर बजार पछिल्लो समय ओरालो लाग्ने क्रममा रहेको छ । जलविद्युत् कम्पनीको सेयर मुल्य पछिल्लो समयमा औसतमा २५ प्रतिशतले घटेको छ ।

जलविद्युत् कम्पनीको तीन महिना अगाडिको सेयर मुल्यलाई विश्लेषण गर्दा औसतमा कम्पनीको सेयर मुल्य २५ प्रतिशतले घटेको देखिन्छ । जसमा केही कम्पनीले बोनस सेयरपनि दिएका छन् ।

सूचिकृत कम्पनीमध्ये सबैभन्दा बढी घाटा लगानीकर्तालाई नेशनल हाइड्रो पावरको सेयरबाट आएको छ ।

सार्वजनिक निष्कासन गरेपछि अहिलेसम्म लगानीकर्तालाई केहीपनि नदिएको कम्पनी नेशनल हाइड्रो सेयर बजार घट्न लागेको क्रमममा आइपियोभन्दापनि तल झरेको छ । सोमबारको सेयर कारोबारबाट नेशनल हाइड्रो पावरको सेयर ९८ मा झरेको छ ।

सूचिकृत कम्पनीमा सबैभन्दा बढी सेयर मुल्य चिलिमे हाइड्रो पावरको छ । चिलिमेको सेयर मुल्य प्रतिकित्ता ७५० रुपैयाँ रहेको छ ।

चिलिमेको सेयर मुल्य तीन महिनामा २५९ रुपैयाँले ओरालो लागेको छ । चिलिमेको बोनस सेयरपनि सेयर बजारमा पछिल्लो तीन महिनामा थपिएको हो ।
यस्तै चिलिमेपछि बढी सेयर मुल्य हुनेमा बुटवल पावर कम्पनी छ । यसको सेयर मुल्य प्रतिकित्ता ४८३ रुपैयाँ छ ।

प्रतिकित्ता ५०१ रुपैयाँको दरले थप सार्वजनिक निकाष्सन गरेको बुटवल पावरको सेयर मुल्य दोस्रो बजारमा एफपिओ सूचिकृत नहुँदै ५०१ बाट तल झरेको छ ।

एफपिओमा पैसा हालेका लगानीकर्तालाई बुटवल पावरको सेयर मुल्य दोस्रो बजारमा एफपिओभन्दा सस्तो आएपछि चिन्ता बढाइदिएको छ ।

सूचिकृत भएका जलविद्युत् कम्पनीमा १० वटा कम्पनीको सेयर मुल्य प्रतिकित्ता २०० भन्दा तल छ । जसका नेशनल हाइड्रोको सेयर मुल्य १०० रुपैयाँभन्दा कम छ ।

यस्तै ३ सयभन्दा कम हुने कम्पनीहरु ३ वटा छन् । दुईवटा कम्पनीको सेयर मुल्य ४ सयभन्दा कम छ ।

५ सयभन्दा कम हुने एउटा र ८ सयभन्दा कम हुने एउटा कम्पनी रहेको छ ।
केही कम्पनी बाहेक अन्य प्रतिफलको अवस्था जलविद्युत् कम्पनीमा राम्रो रहेको छैन ।

सेयर मुल्यको आधारले लगानीकर्ताको विश्वास चिलिमे,बुटवल पावर,हिमालयन पार्टनर र सानिमा माईमा अरुको कम्पनीको तुलनामा बढी भएको देखिन्छ ।


क्लिकमान्डु