मर्चेन्ट बैंक खोल्न बैंकको प्रतिस्पर्धा, थप ४ बैंकका सहायक कम्पनी आउँदै
काठमाडौं । बाणिज्य बैंकहरु मर्चेन्ट बैंक खोल्ने प्रतिस्पर्धामा लागेका छन् । सहायक कम्पनी मार्फत सेयर निस्कासन तथा बिक्री बन्धकको काम गर्न थप ४ बाणिज्य बैंकले नयाँ कम्पनी खोल्न लागेका हुन् ।
धितोपत्र बोर्डले दिएको जानकारी अनुसार नेपाल बंगलादेश (एनबी), कुमारी, जनता र सेन्चुरी बैंकले मर्चेन्ट बैंक स्थापना र संचालनको अनुमित मागेका छन् ।
पछिल्लो समयमा ४ बाणिज्य बैंकका सहायक कम्पनी सहित अन्य थप मर्चेन्ट बैंकको अनुमतिका लागि निबेदन परेको धितोपत्र बोर्डका सहप्रवक्ता निरन्जय घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार एनबी बैंकले नेपाल बंगलादेश मर्चेन्ट, कुमारी बैंकले कुमारी मर्चेन्ट, जनता बैंकले जनता मर्चेन्ट र सेन्चुरी कमर्शियल बैंकले सेन्चुरी मर्चेन्ट संचालनको अनुमति माग्दै बोर्डमा निबेदन दिएका हुन् ।
यस्तै बोर्डमा निवेदन दिएको भएपनि सम्पन्न क्यापिटलको कागजपत्र अध्ययनकै क्रममा रहेको बोर्डले जानकारी दिएको छ ।
बोर्डमा पछिल्लो समय केसिएल अष्ट्रिच्युट क्यापिटल स्थापना र संचालनको अनुमति माग्दै निवेदन परेको छ ।
बोर्डले हालै मात्र वेल्थ म्यानेजमेन्ट क्यापिटल र आस्क म्यानेजमेन्ट क्यापिटललाई संचालन अनुमति पत्र (एनओआइ) दिएको छ ।