भेरी-बबई बहुउद्देश्यिय डाइभर्सन आयोजना द्रुत गतिमा अघि बढाउने उर्जामन्त्रीको पहिलो निर्णय



काठमाडौं । भेरी बबई बहुउद्देश्यिय डाइभर्सन आयोजना अगाडि बढाइने भएको छ । ऊर्जा मन्त्रालयको कार्यभार सम्हाल्ने वित्तिकै नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले सो निर्णय गरेका हुन् ।

उनले भेरी नदीको पानीलाई प्रयोग गरेर सिंचाई, खानेपानी तथा जलविद्युत् समेत उत्पादन गर्ने गरी तयार गरिएको बहुउद्देश्यिय आयोजनामा जग्गा प्राप्ति सम्बन्धी निर्णय कार्यान्वयन गर्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

हाल भेरीको पानी नै प्रयोग गरेर विद्युत् उत्पादन गर्ने र सिंचाई सुविधा समेत उपलब्ध गराउने लक्ष्यका साथ भेरी बबई डाइभर्सन आयोजना सञ्चालन भइरहेको छ । सो आयोजनाको हालसम्म करिब ३ किलोमिटर सुरुङ समेत खनिसकिएको छ ।

सोही आयोजनाको सहायक आयोजनाको रुपमा अगाडि बढाउन लागिएको भेरी बबई बहुउद्देश्यिय डाइभर्सन आयोजनाको जग्गा प्राप्तिको निर्णय अगाडि बढाइएको सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए ।

नवनियुक्त ऊर्जा मन्त्रीले लामो समयदेखि रोकिएका आयोजना अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् । उनले माथिल्लो तामाकोशी, तनहुँ सेती, सेती गंगा जस्ता आयोजना समयमै सम्पन्न गर्ने र माथिल्लो त्रिशुली थ्री ए, कुलेखानी तेस्रो जस्ता आयोजनामा भइरहेको ढिलाई समेत हल गर्ने बताएका छन् ।


पुष्प दुलाल