एनसीसी बैंक घोटला प्रकरणः कांग्रेस नेता धितालसहित १३ जना पक्राउ (सूचिसहित)



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको १ अर्ब ५१ करोड रुपैयाँ घोटला गरेको अभियोगमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआइबी) ले शुक्रबार बिहान अभियुक्तहरुलाई पक्राउ गरेको हो । लमजुङका कांग्रेस नेता बिष्णु धिताल पनि पक्राउ परेका छन् ।
तत्कालीन एपेक्स बैंकका अध्यक्षसमेत रहेका धिताल हाल एनसीसी बैंकका सञ्चालक छन् ।

कांग्रस महासमिति सदस्यसमेत रहेका धितालले कांग्रेसको गत महाअधिबेसनमा केन्द्रिय सदस्यमा उम्मेद्वारीसमेत दिएका थिए ।

२०७२ मंसिर ११ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेपछि मर्जरको फाइदा उठाउँदै तत्कालिन एपेक्स डेभेलपमेन्ट बैंकले दरबार मार्ग , लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई १ अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपैयाँ नोक्सानी गरेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्- एनसीसी र एपेक्स मर्जरः जब भयो बिग्रिएका केटाकेटीबीच बिहे…

पक्राउ परेकालाई बैंकिङ कसूर तथा सजाय ऐन–२०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको सीआइबीले जनाएको छ ।

एनसीसी बैंकले राष्ट्र बैंकमार्फत् घोटला काण्डको विषयमा सीआइबीमा उजुरी गरेको थियो । राष्ट्र बैंकको आग्रहमा अभियुक्तहरुलाई पक्राउ गरिएको सीआइबी प्रवक्त मिरा चौधरीले जानकारी दिइन् ।

अभियुक्तहरुको संख्या अझै बढी भएपनि अरु भागेकाले १३ जनालाई मात्रै पक्राउ गर्न सकिएको सीआइबीका प्रमुख पुष्कर कार्कीले जानकारी दिए ।

‘अन्य अभियुक्तहरुको खोजी तीब्र बनाएका छौं,’ कार्कीले भने ।

राष्ट्र बैंकको स्थलगत अध्ययनबाट पनि सो बैंकको कर्जा दुरुपयोग भएको पाइएको थियो । एनसीसी उजुरीका आधारमा राष्ट्र बैंकले सीआइबीलाई पत्राचार गरी कर्जा दुरुपयोगमा संंलग्नलाई बैंकिङ कसूरमा मुद्दा चलाउन भनेको थियो ।

एनसीसीले एपेक्ससहित ४ वटा विकास बैंकलाई गाभेर एकीकृत कारोबार गरेको भएपनि अदालतले एपेक्सको कारोबार विवरण छुट्टै राख्न बैंकलाई आदेश दिएको थियो ।

सि.नं.         नाम थर                          पद
1. विष्णु प्रसाद धिताल तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको अध्यक्ष
2. ईच्छा बहादुर गुरुङ  तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
3. सुवर्ण राज भण्डारी,  तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
4. मधुवन लाल श्रेष्ठ तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको संचालक
5. ऋषी राज भट्ट  तत्कालिन एपेक्स डेभलपमेन्ट बैकको निमित्त कार्यकारी      अधिकृत
6. दुर्गा दत्त जोशी,  तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको वरिष्ठ                     प्रबन्धक
7. रामचन्द्र बसौला  तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक                  महाप्रबन्धक
8. बिकास श्रेष्ठ  तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
9. सागर नेउपाने  तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको लोकन्थली              शाखा प्रमुख
10. मान ब. राउत  तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक
11. विनित मणि उपाध्याय   तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको सहायक                 महाप्रबन्धक
12. मोहन खरेल  तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको कर्जा अधिकृत
13. सुदिप थापा   तत्कालिन एपेक्सको डेभलपमेन्ट बैकको शाखा प्रबन्धक

तर मर्जरपछि एनसीसी बैंकले एपेक्सको उक्त शंकास्पद कर्जाको प्रोभिजन गरिसकेको छ । एनसीसीले मर्ज भएपछि मात्रै एपेक्सको डेढ अर्ब बढी कर्जा दुरुपयोग भएको थाहा पाएको थियो ।

कर्जा दुरुपयोग भएको थाहा पाउने वित्तिकै एनसीसी बैंकले उक्त कर्जाको प्रोभिजन गरेको हो । त्यसैले डेढ अर्बको घोटला काण्ड बाहिरिए पनि यसले एनसीसी बैंकलाई नयाँ र थप आर्थिक क्षति गर्दैन ।

अभियुक्तहरुबाट उक्त दुरुपयोग भएको कर्जा उठ्यो भने बैंकले प्रोभिजन गरेको रकम पनि नाफामा देखाउन सक्नेछ ।

मुख्य अनियमितताहरु

  • कमशल धितो भिरालो पाखोबारी , बाटो नपुगेको जग्गाहरुको अधिक मुल्यांकन गरी कर्जा लगानी गरेको ।
  • कृतिम ऋणीहरु खडा गरिएको ।
  • निश्चित क्षेत्रको कमशल जमिनहरुमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिकेन्द्रित गरेको ।
  • ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
  • मोटरबाटो नभएको भिरालो पाखो बारीहरु खेत वन क्षेत्र भएको जग्गाहरुमा बाटो भएको प्रमाणित गरेको ।
  • धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच,रोक्का, कर्जा तमसुक,कर्जा प्रवाह एकै दिनमा गरेको ।
  • कमशल जग्गाहरु धेरै टुक्रा पार्ने र धेरै ऋणीहरुको नाममा धेरै कर्जा दिने गरेको ।
  • कर्जा तमसुकहरुमा एकल ऋणीको मात्र सहीछाप गराई साक्षीहरु समेत नराखी कर्जा दिएको ।
  • सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पून दोस्रो कर्जा प्रवाह गरेको ।
  • एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण गरेको ।
  • सर्वसाधारण निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग गरेको ।
  • अधिकांश धितो मुल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको ।


पुष्प दुलाल