सिउरी न्यादीमा एनएमबी बैंकको नेतृत्वमा ६ बैंकले ५ अर्ब लगानी गर्ने



काठमाडौ । सिउरी न्यादी पावर कम्पनीले लमजुङ जिल्लामा आयोजना स्थल रहेको ४०.२७ मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ ।

आयोजनामा विभिन्न ६ बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन् । लगानी सम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । सिउरी न्यादी पावर कम्पनीका प्रमुख शैलेन्द्र गुरागाई र बैंकका प्रतिनिधिले बुधबार द्विपक्षीय लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आयोजनामा एनएमबी बैंकको नेतृत्वमा प्रभु, मेगा, सेञ्चुरी, एनसिसी र कुमारी बैंक लिमिटेडले सहलगानी गर्ने भएका छन् ।

आयोजनाको कूल लागत ७ अर्ब रुपैयाँ रहेको छ । आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ ।

बैंकले कूल लगानीको ७५ प्रतिशत र प्रवद्र्धक कम्पनीले २५ प्रतिशत इक्विटी लगानी गर्नेछन् । ङादी समूह मुख्य प्रवद्र्धक रहेको सो आयोजनामा इक्विटी स्वरुप १ अर्ब ७५ करोड लगानी रहनेछ ।

नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच २०७४ जेठ १९ गते नै विद्युत् खरिद सम्झौता भइसकेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था(इपान)का अध्यक्ष समेत रहेका शैलेन्द्र गुरागाईले जानकारी दिए ।

वित्तीय सम्झौता भएकाले अब युद्धस्तरमा निर्माण कार्य सुरु हुने गुरागाईले जानकारी दिए । हाल आयोजना स्थलमा पहुँचमार्ग तथा अन्य भौतिक पूर्वाधारको काम भइरहेको छ ।

२०७७ सालभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाको लमजुङस्थित साविक बाँहुनडाँडा गाविसमा आयोजनास्थल रहेको छ ।

कूल २२.२ मेगावाट क्षमताका दुई टर्बाइन जडान गरेर आयोजनाबाट वार्षिक २३५.७६ गिगावाट आवर विद्युत उत्पादन गर्ने तयारी गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् खुना सवस्टशेनमा जोडिनेछ ।

विद्युत्गृहदेखि सवस्टेशनसम्मको दूरी ११ किलोमिटर रहेको छ । विद्युत्गृहदेखि सवस्टेशनसम्मको प्रसारण लाइन आयोजना आफैले निर्माण गर्नेछ ।


पुष्प दुलाल