युएस बङ्ला एयर दुर्घटनाको छानबिन समितिमा बंगलादेशको प्रतिनिधित्व हुने



काठमाडौं । सोमबार भएको युएस बङ्ला एयरको दुर्घटनाको छानबिनमा बंगलादेश सरकारले पठाउने व्यक्तिको प्रतिनिधित्व हुने भएको छ ।

दुर्घटना भएपछि आज बंगलादेशबाट नागरिक उड्यनमन्त्रीको नेतृत्व एउटा टोली नेपाल आएको थियो । बंगलादेशबाट काठमाडौं आउदै गरेको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने समयमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर ४९ जनाको मृत्यु भएको छ ।

नेपाल सरकारका अधिकारी र बंगालदेशी सरकारी अधिकारीहरु भएको वार्तामा छानविन समितिमा बंगलादेशको प्रतिनिधित्व हुनुपर्ने सहमति जुटेको छ । दिनभर भएको वार्तापछि बंगलादेशी टोलीले नेपाली पक्षसँग छानविन निष्पक्ष हुनुपर्ने र समितिमा बंगालदेशको पनि प्रतिनिधित्व हुनुपर्ने माग राखेको थियो । वार्तामा सहभागी भएको पर्यटन मन्त्रालय र नागरिक उड्यनका अधिकारीले यसमा सहमति जनाएका छन् ।

दुर्घटनापछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रुम र युएस बङ्ला विमानका अधिकारीको भनाई बाझिएको छ । एकले अर्कोलाई आरोप लगाउने भनाई मिडियामा आएका छन् ।

वार्तामा सहभागी एक अधिकारीले दिएको जानकारी अनुसार बंगलादेशले दुर्घटनामा परेर ज्यान गुमाएको आफ्ना नागरिकको शव लैजाने प्रक्रिया सुरु गर्ने छ । पहिचान नभएका शवको डिएनए परिक्षण गरेर पहिचान गरिने छ ।

सरकारले विमान दुर्घटनाको छानविन समिति बनाउने घोषणा गरिसकेको छ । विगतमा छानविन समितिले विमान चालकलाई दोष लगाएको प्रतिवेदन दिने गरेका थिए ।


क्लिकमान्डु