हवाई दुर्घटनाः आयोग बन्छ, प्रतिवेदन कार्यान्वयन हुँदैन, कारण पत्ता लाग्दैन




काठमाडौं । नेपालमा हवाई दुर्घटनापछि गठन गरिएका छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको पाइएको छ ।

सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक/पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिश गर्ने गरेको छ । तर, प्रतिवेदन कार्यान्वयन गर्ने तर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ । नेपालभित्रै भएका ठूला हवाई दुर्घटनामध्ये युएस बंगला एयरको विमान दुर्घटना आठौं ठूलो हो ।

कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् ।

अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्न गर्दैआएको छ । समस्या न्यून हुनुको साटो बढ्दै गएको छ । समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रुपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकता समेत महसुस भएको छ ।

युएस बंगला विमानको दुर्घटनापछि हवाई सुरक्षाका विषयमासमेत चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशंका र अनुमान पनि आएका छन् । तर सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारहरुको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्व महानिर्देशक राजेशराज दली विगतमा भएका दुर्घटना जाँचबुझ आयोगले सिफारिश गरेको प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिएको बताउँछन् ।

‘दुर्घटना जाँचबुझ आयोगको सिफारिश अक्षरशः कार्यान्वयन गर्नेतर्फ तदारुकता देखाउनु जरुरी हुन्छ, तर किन हो त्यस्ता प्रतिवेदन कार्यान्वयन भएनन् भन्नेतर्फ कसैको ध्यान गएको पाइँदैन,’ दली भन्छन् ।

सोमबारको दुर्घटनाले हवाई सुरक्षाको पाटोमा समेत असर पर्नसक्ने देखिएको छ । पूर्व महानिर्देशक दलीका विचारमा हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमा समेत अध्ययन हुनुपर्दछ ।

हवाई दुर्घटनालाई नजिकबाट नियाल्ने हो भने विमानस्थलमै भएको यो पहिलो ठूलो दुर्घटना हो । यसअघि दुईवर्ष पहिले टर्किस एयरको विमान दुर्घटनामा परेको थियो । तर सो दुर्घटनामा वायुयानमा क्षति पुगे पनि मानवीय क्षति भने भएको थिएन । दुर्घटनामा परेको टर्किस एयरको जहाज प्रयोग गरेर क्याप्टेन वेद उप्रेतीले हवाई संग्रहालय बनाएका छन् ।

यस्तो छ अन्तराष्ट्रिय विमान कम्पनीको दुर्घटना
नेपालमा पहिलो अन्तराष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो ।

यस्तै, सन् १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो । सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र १५७ जनाले ज्यान गुमाएका थिए ।

सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भएन ।

पटक÷पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ । सरकारले पछिल्लो दुर्घटना छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा छ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । आयोगका सदस्यमा प्रमुख सेनानी डा. राजीवदेव तथा क्याप्टेन त्रय केके शर्मा, सुनील प्रधान र उद्धवप्रसाद सुवेदी र सदस्य सचिवमा सहसचिव बुद्धिसागर लामिछाने छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर सोमबारको दुर्घटनालाई गम्भीर दुर्घटनाका रुपमा टिप्पणी गर्छन् ।

‘ठूलो एवं गम्भीर दुर्घटना भयो, के कति कारणले जहाज दुर्घटनामा परेको हो, त्यसको छानबिनपछि मात्रै थाहा होला तर, जे जस्तो कारणले भएको भए पनि यो भयानक दुर्घटना हो,’ मानन्धर भन्छन् ।

दुर्घटनाका कारण पत्ता लाग्दैनन्
विमानस्थलमै ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएका कारण अन्तराष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन् । सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो ।

काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको बताइन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ७२ हवाई दुर्घटना भएका छन् ।

हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटक/पटक छानबिन समितिसमेत गठन गरिए । प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ ।

प्राधिकरण गम्भीर
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रकुमार श्रेष्ठले सोमबारको विमान दुर्घटनाले प्राधिकरणलाई थप गम्भीर र संवेदनशील बनाएको बताए । उनले के कति कारणले विमान दुर्घटना परेको हो भन्नेबारेमा भने आयोगको प्रतिवेदन नआएसम्म आफूहरुले केही बताउन नसक्ने उल्लेख गरे ।

एकल धावनमार्गका कारण हवाई ट्राफिक बढेको सन्दर्भमा निर्माणाधीन विमानस्थलको छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्नुपर्ने आवश्यकता बढेर गएको छ ।

नेपालमै थप विमानस्थल नभएका कारण कुनै दुर्घटना हुने बित्तिकै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराउन नसक्दा धेरै उडान अन्यत्र फर्काउनु परिरहेको छ । सोमबार पनि एक दर्जन बढी उडान लखनऊ र कोलकातातर्फ फर्काउनु परेको थियो भने केही उडानलाई आकाशमै ‘होल्ड’ गर्नुपरेको थियो ।

दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था युएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो । सो वायुसेवा प्रदायकले सन् २०१६ देखि अन्तराष्ट्रिय उडान शुरु गरेको हो । सातामा चार दिन काठमाडौँमा उडान गर्ने सो वायुसेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायुसेवा प्रदायकमा गनिन्छ । रासस


क्लिकमान्डु