पाइलट र एयर ट्राफिकको संवाद बाहिरिएपछि छानविनका लागि ६ कर्मचारीको ‘ड्यूटी अफ’



 

काठमाडौं । यूएस बङ्ला डास ८ जहाज दुर्घटनाको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको एयर ट्राफिक कन्ट्रोलर रुम (एटीसी) मा कार्यरत ६ जना कर्मचारीलाई ‘ड्युटी अफ’ गराइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) स्रोतका अनुसार पाइलट र एटीसीबीचको संवाद बाहिरिएको विषयमा छानविनका लागि कर्मचारीलाई बिदामा पठाइएको हो ।

त्यसबाहेक आफ्नै आँखा अघि जहाज दुर्घटना देखेका ती कर्मचारीलाई रिफ्रेस गराउनका लागि पनि बिदामा राख्नु आवश्यक भएको क्यानले जनाएको छ ।

सोमबार दिउसो २ः१८ बजे एयरपोर्टको धावनमार्ग भित्रै एयर बङ्लाको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा पनि ५० भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

सोमबारसाझ देखि नै अति नै संवेदनशील मानिएको एयर ट्राफिक कन्ट्रोलर रुमका कर्मचारी र जहाजका चालक तथा सहचालकबीच भएको संवाद बाहिरिएपछि क्यानले संवाद कसरी र कसले बाहिर ल्यायो भनेर छानविन गर्न लागेको हो ।


पुष्प दुलाल