न्यूनतम चुक्ता पुँजी पुर्याउन क्यापिटल रिजर्भबाट बोनस सेयर दिन पाइने




काठमाडौं । बैंक तथा वित्तीय संस्थाको क्यापिटल रिजर्भमा रहेको रकमबाट बोनस सेयर दिन पाउने नीतिगत ब्यवस्था गर्न लागिएको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु एकापसमा मर्ज हुँदा स्वाप रेरियोको कारण रहेको रकम र थप सार्बजनिक निस्कासन (एफपिओ) जारी गर्दा प्राप्त भएको रकमबाट बोनस सेयर दिन पाइने नीतिगत ब्यवस्था गर्न लागेको हो ।

क्यापिटल रिजर्भमा रहेको रकमलाई चुक्ता पुँजीमा सार्न दिने गरी छलफल अगाडि बढेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले जानकारी दिए । बैंक तथा वित्तीय संस्था एकापसमा मर्ज हुँदा स्वाप रेसियोको कारण जम्मा भएको रकम र उनीहरुले एफपिओ जारी गर्दा प्राप्त भएको रकमलाई क्यापिटल रिजर्भमा राख्नु पर्ने ब्यवस्था थियो । राष्ट्र बैंकले यस्तो रकमलाई बोनस सेयर दिएर चुक्ता पुँजीमा परिणत गर्न पाउने ब्यवस्था गर्न लागेको हो ।

‘मर्जरमा स्वाप रेसियोको कारण जम्मा भएको रकम र एफपिओ जारी गर्दा प्राप्त भएको रकमलाई चुक्ता पुँजीमा सार्न दिने गरी छलफल अगाडि बढेको छ, यस्तो रकम सेयरधनीकै भएकोले बोनस सेयर दिदा फरक नपर्ने अध्ययनले देखायो,’ डेपुटी गभर्नर श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

बैंक अफ काठमाण्डूले क्यापिटल रिजर्भमा रहेको रकम चुक्ता पुँजीमा परिणत गर्न निबेदन दिएपछि राष्ट्र बैंकले सो सम्बन्धमा अध्ययन नै गरेको थियो । तत्कालिन बैंक अफ काठमाण्डू र लुम्बिनी बैंक मर्ज हुँदा स्वाप रेसियोको १ः०.८२८१ कायम भएको थियो । अर्थात तत्कालिन लुम्बिनी बैंकको १०० कित्ता सेयर हुने ब्यक्तिले करिब ८३ कित्ता सेयर पाएका थिए । यो भनेको लुम्बिनी बैंकको सेयर मूल्य करिब ८३ रुपैयाँ गणना भएको थियो । बाँकी रहेको करिब १७ रुपैयाँ क्यापिटल रिजर्भमा गएको थियो ।

यस्तै बैक अफ काठमाण्डूले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयरलाई प्रतिकित्ता ३१० रुपैयाँमा एफपिओ पनि जारी गरेको थियो । सो एफपिओ जारी गर्नुअघि बैंकमा संस्थापक सेयरधनीको स्वामित्व ४५.६४ प्रतिशत थियो । एफपिओ जारी पछि बैंकमा संस्थापकको सेयर स्वामित्व ५१ प्रतिशत पुगेको थियो ।

प्रतिकित्ता १०० रुपैयाँ दरका ती सेयरमा २१० रुपैयाँ प्रिमियम थपिएको थियो । प्रतिकित्ता २१० रुपैयाँका दरले प्राप्त भएको प्रिमियम रकमलाई बैंकले क्यापिटल रिजर्भमा राखेको थियो । सो रकमलाई पनि राष्ट्र बैंकले चुक्ता पुँजीमा गणना गर्न दिने संकेत गरेको छ ।

बैंक अफ काठमाण्डूले क्यापिटल रिजर्भमा रहेको रकमलाई चुक्ता पुँजीमा गणना गर्न दिन निबेदन दिएपछि अन्य बैंक वित्तीय संस्थाको सन्दर्भमा पनि के गर्न भन्ने नीतिगत प्रश्न उठ्ने भन्दै राष्ट्र बैंकले अध्ययन गरेको थियो । यस्तो रकम सेयरधनीकै भएको ठहर गर्दै अध्ययनले बोनस सेयर प्रदान गरेर चुक्ता पुँजीमा गणना गर्न पाइने सुझाव दिएको छ ।

सो राय सुझावलाई राष्ट्र बैंक संचालक समितिमा पठाइन लागेको छ । क्यापिटल रिजर्भमा रहेको रकमलाई चुक्ता पुँजीमा गणना नगर्ने हो भने बैंक अफ काठमाण्डूको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्दैन । राष्ट्र बैंकको नियम अनुसार यो बर्ष बार्षिक साधारणसभा गर्दा बाणिज्य बैंकहरुको चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुगेको हुनुपर्ने भन्ने छ ।


क्लिकमान्डु