विद्यासुन्दर मेयर निर्वाचित भएको १० महिनापछि काठमाडौंमा मोनोरेल बनाउने प्रक्रिया अघि बढ्यो



काठमाडौं । स्थानीय तहको निर्वाचनमा जाँदा काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेद्वार विद्यासुन्दर शाक्यले काठमाडौंमा मोनोरेल कुदाउने घोषणा गरेका थिए ।

काठमाडौंको ट्राफिक जामदेखि आजित भएका जनताले मोनोरेल कुदाउने विद्यासुन्दरको सपनामा साथ दिए । फलस्वरुप भारी मतका साथ शाक्य मेयरमा निर्वाचित भए ।

मेयरमा निर्वाचिन भएको ७/८ महिनासम्म मोनोरेल चलाउनका लागि महानगरले के कस्ता काम गरिरहेको छ भनेर सर्वसाधारणले सुन्न समेत पाएका थिएनन् । जसकारण मेयर शाक्य आलोचनाका पात्र बन्दै आएका थिए ।

तर, शाक्य मेयरमा निर्वाचत भएको १० महिनापछि काठमाडौं महानगरले मोनोरेल गुडाउने प्रक्रिया अगाडि बढाएको छ ।

साइमेक्स इको प्रालिले काठमाडौंका ५ वटा रुटमा मोनो रेल चलाउन सकिने भन्दै महानगरलाई पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन (प्रि फिजिबलिटी रिपोर्ट) बुझाएपछि औपचारिकरुपमा मोनोरेल कुदाउने प्रत्रिया अघि बढेको सार्वजानिक भएको छ ।

साइमेक्सले काठमाडौंका सडकमा मोनो रेल गुडाउनका विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माणको स्विकृति लिन पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको मेयर शाक्यले जानकारी दिए ।

‘काठमाडौंका ५ सडकमा मोनोरेल चलाउन सकिन्छ भनेर साइमेक्सले पूर्वसम्भाव्यता अध्ययन बुझाएको छ, साइमेक्सले बुझाएको अध्ययन प्रतिवेदन अनुमोदनका लागि बोर्डमा लगिएको छ,’ मेयर शाक्यले क्लिकमाण्डूसँग भने, ‘बोर्डले स्वीकृति प्रदान गरेपछि कुन कम्पनीलाई, कति रुपौयाँमा विस्तृत संभाव्यता अध्ययन प्रतिवेदन (डीपपीआर) का लागि जिम्मा लगाइने छ ।’

महानगरका सार्वजनिक निजी साझेदारी इकाई निर्देशक महेश काफ्लेका अनुसार बोर्डबाट सो प्रस्ताव स्विकृत भएलगतै डीपीआरका लागि साइमेक्ससँग सम्झौता हुनेछ ।

उपत्यकामा बढ्दो शहरीकारणसँगै ट्राफिक समस्या ठूलो समस्या बन्न थालेको छ । बढ्दो ट्राफिक जामलाई समयमा नियन्त्रण गर्नका आवश्यक कदममध्ये मोनोरेल एउटा विकल्प हुन सक्ने मेयर शाक्यको भनाइ छ ।

मोनोरेल चलाउने साइमेक्स को हो ?

काठमाडौं महानगरलाई साइमेक्स इन्क प्रालिले मोनोरेलको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएको हो । साइमेक्स नेपलामा दर्ता भएको नेपाली कम्पनी हो ।

नेपालमा रेल सम्बन्धी कुनै पूर्वाधार निर्माण भई सकेका छैनन् । साथै मोनोरेल निर्माणका लागि अर्बौ रुपैयाँ लाग्ने भएकाले नेपाली कम्पनीले मात्र लगानी गर्न सक्ने सम्भावना पनि हुँदैन । साइमेक्सलाई ठूला कम्पनीले सहयोग गरिरहेको छ ।

महानगरका कर्मचारीका अनुसार साइमेक्सको पछाडी चिनियाँ कम्पनी बिल्ड योर ड्रिम्स (बीवाईडी) को हात रहेको छ । बीवाई इलेक्ट्रिकल सामान उत्पादन गर्ने कम्पनी हो । सो कम्पनीले चीनको सेन्जेनमा मोनो रेल सफतला पूर्वक संचालन गरिसकेको छ ।

काठमाडौंका ५ वटा रुटमा मोनो रेल चलाउन सकिन्छ भन्ने पूर्व साम्भाव्यता अध्ययन पनि साइमेक्सले गरिसकेका छन् । सो अध्ययन उनीहरुको नीजी लगानीमा भएको हो । सो अध्ययन प्रतिवेदनका आधारमा महानगरसँग डीपीआर निर्माणका लागि प्रस्ताव गरिरहेका छन् ।

मोनो रेलको खर्च कसको ?

मोनो रेलको पूव सम्भाव्यता अध्ययन साइमेक्सले आफ्नै खर्च पनि गरिसकेको छ । डीपीआर पनि आफ्नै खर्चमा गर्नका लागि उनीहरु तयार देखिएका छन् । डीपीआर तयार गर्नका लागि उनीहरुलाई महानगरसँगको सहकार्य आवश्यक छ ।

काठमाडौं महानगरको सडकमा मोनो रेल गुड्ने भएकाले महानगरसँग सहकार्य गर्न लागेका हुन् । महानगरबाट स्विकृति प्राप्त गरेमा उनीहरुले डीपीआर निर्माणको कार्य अगाडि बढाउने छन् । यसको सम्पूर्ण लागत साइमेक्सले व्यवर्होने छ ।

के-मोनोरेल सित्तैमा बन्छ ?

सार्वजनिक निजी साझेदारी (पीपीपी) अन्तर्गत बुट मोडेलमा मोनोरेल निर्माण गर्न लगिएको हो । मोनोरेलको डीपीआरदेखि निर्माणसम्मको सम्पूर्ण खर्च साइमेक्सले व्यवहोर्ने छ । मोनोरेल संचालन पछि आउने फाइदाबाट साइमेक्सले आफ्नो लगानी उठाउने छ । त्यसका लागि महानगर र साइमेक्सबीच ३० बर्षसम्मको सम्झौता हुनसक्छ । मोनो रेल संचालनबाट उठ्ने रकम साइमेक्सले लगानी खर्चको रुपमा उठाउने छ ।

मोनोरेल सम्भव छ ?

निर्देशक काफ्लेका अनुसार सम्भव देखिएर नै उनीहरुले काठमाडौंका सडकमा मोनोरेल चलाउने प्रस्ताव गरेको बताउँछन् ।
‘मोनोरेल सडकका माथि गुड्ने हो, त्यसका लागि अहिले भईरहेका सडकमाथि पिल्लर उठाएर रेलका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने हो,’ काफ्लेले भने ।

डीपीआर निर्माणका लागि साइमेक्सले प्रस्ताव गरेको छ । डीपीआर निर्माण तयार भएपछि भने काठमाडौंमा मोनोरेल सम्भव छ कि छैन भन्ने प्रश्नको उत्तर मिल्ने उनी बताउँछन् ।


पुष्प दुलाल