आज विश्वासको मत लिदै ओली, उनको पक्षमा कति होलान् सांसद ?




काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज संसद्मा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन उनको परम्परागत विरोधीको रुपमा रहेको राष्ट्रिय जनता पार्टीले समेत सहमति जनाएको छ ।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महत्तोले विगतमा रहेको व्श्विासको खडेरीलाई परिपूर्ति गर्न पनि आफूहरुले विश्वासको मत दिन लागेको बताए । तर, संघीय समाजवादी फोरमले भने हालसम्म विश्वासको मत दिने नदिने निर्णय गरिसकेको छैन ।

प्रधानमन्त्रीमा यही फागुन ३ गते ओली चयन भएका थिए । एमाले र माओवादी केन्द्रको सहमतिको आधारमा ओलीलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्ने लक्ष्यका साथ आज संघीय संसद्को बैठक बोलाइएको छ । ओली नेतृत्वको सरकारको पक्षमा प्रतिनिधिसभाका २ सय ७५ सांसदमध्ये कम्तीमा २०९ सांसदको समर्थन देखिएको छ ।

गणितअनुसार दुईतिहाइका लागि १ सय ८२ मत आवश्यक पर्छ । ओली सरकारको पक्षमा दुईतिहाइभन्दा मत बढी देखिएको छ ।

प्रधानमन्त्री ओलीलाई एमालेका १२१, माओवादी केन्द्रका ५३, राजपाका १७ र फोरमका १६ सांसदको समर्थन रहने देखिन्छ । त्यस्तै, स्वतन्त्र सांसदको हैसियतमा रहेका राजेन्द्र लिङ्देन, राजमोकी दुर्गा पौडेल र हुम्लाबाट निर्वाचित स्वतन्त्र सांसद छक्कबहादुर लामा पनि सरकारका पक्षमा मतदान गर्ने तयारीमा छन् ।

ओलीको विपक्षमा नेपाली कांग्रेस र एक सिट रहेको नयाँ शक्तिमात्रै हुने देखिएको छ । नयाँ शक्तिका सांसद तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई हाल इन्डोनेसियामा रहेका छन् । अहिले संसदमा कांग्रेसका जम्मा ६३ सांसद छन् ।


क्लिकमान्डु