पश्चिम सेतीबारे प्रधानमन्त्री ओलीले दिए यस्तो निर्देशन, उच्चस्तरीय प्राविधिक समिति गठन



काठमाडौं । लामो समयदेखि विवादमा फस्दै आएको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा समन्वयन गर्नं सरकारले एक उच्चस्तरीय प्राविधिक समिति गठन गरेको छ ।

लगानी बोर्डको केहीदिन पहिलेको बैठकले उच्चस्तरीय प्राविधिक समिति गठन गरेको हो । उक्त समितिले आयोजना देखिएको समस्या समाधान गरेर तत्काल परियोजना निर्माणका लागि पहल गर्नेछ ।

कूल ७५० मेगावाट विद्युत् उत्पादन क्षमताको आयोजना लामो समयदेखि रोकिँदै आएको थियो । आयोजनाका सम्बन्धमा अनेशन खालका आशंका र विवाद रहदै आएको थियो ।

आयोजनाका सम्बन्धमा तत्काल काम अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई समेत निर्देशन दिएका छन् ।

सो आयोजनामा देखिएको समस्याबारे अध्ययन गर्न गठन गरिएको टोलीलाई एक महिनाभित्र आफ्नो सुझाव सहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको भनाइ छ ।

प्राविधिक समितिमा लगानी बोर्ड, अर्थ मन्त्रालय, उर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि सहभागी रहेका छन् । पश्चिम सेती निर्माणका लागि चिनियाँ कम्पनी थ्री गर्जेजले विभिन्न शर्त राख्न थालेपछि आएको समस्या समाधान गर्न सरकारले अग्रसरता लिएको हो ।

सरकारले आयोजना खारेज गर्ने तयारी गरेपछि चिनियाँ प्रवद्र्धक थ्री गर्जेज छलफलका लागि भन्दै नेपाल आएको थियो । उक्त टोलीले बोर्ड, प्राधिकरण र सरकारका उच्च अधिकारीसँग छलफल गरेको थियो ।

छलफलमा चिनियाँ अधिकारीका तर्फबाट समस्या समाधान गर्ने भन्दा पनि शर्त मात्रै राख्ने काम भएको थियो ।

चिनियाँ पक्षको भनाई र गराईका फरक रहेको वार्तामा सहभागी अधिकारीको भनाइ छ । उनीहरुले आयोजना निर्माण गनेृ भन्दा पनि शर्त माथि शर्त राखेर आयोजना केवल होल्ड गर्ने प्रवृत्ति मात्रै देखा परेको बताइन्छ ।

प्राधिकरणका अधिकारीसँग भएको छलफल रुपमा सकारात्मक देखिए पनि सारमा भने शतप्रतिशत नकारात्मक रहेको बताइन्छ । उनीहरु आयोजना बनाउने पक्षमा नै नरहेको बैठकमा सहभागी अधिकारीहरुको भनाइ छ ।


पुष्प दुलाल