बीएण्डसी हस्पिटलले २८ करोड लगानीमा भित्र्यायो विश्वस्तरीय क्याथ ल्याब मेसिन




बिर्तामोड । झापाको बिर्तामोडमा रहेको बीएण्डसी टिचिङ हस्पिटलले मुटु रोगीको उपचारमा ध्यान दिदैं क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ ।

मुटु रोग सम्बन्धि विशेषज्ञता हासिल गरेका डीएम कार्डोलोजिष्ट डाक्टर राजेश पञ्जियारले अब बी एण्ड सी हस्पिटलले मुटु रोगको सफलताका साथ उपचार गर्न सक्ने बताएका छन् । विश्व स्तरीय उपकरणहरु भएकाले मुटु रोगीले उपचारका लागि राजधानी तथा विदेश जानु नपर्ने बताएका छन् । डा.पजियारको टिममा पाँच जना विशेषज्ञ डाक्टर रहेका बीएण्डसीले जानकारी दिएको छ ।

मुटु रोगको उपचारमा संलग्न डाक्टर पञ्जियारले बीएण्डसीमा मुटुको सम्पूर्ण उपचार सुरु भएको भन्दै अबको दुई वर्ष भित्र हस्पिटलले मुटु फेर्नेसम्मका उपचार गर्ने उद्धेश्यका साथ चिकित्सकको टोली लागेको बताएका छन् ।

एनजियो ग्राफिक्स, एजियो प्लाष्टिक, प्रेस मेकर हाल्ने प्राविधि मार्फत विभिन्न उपचार गर्दै आएको हस्पिटलले क्याथ ल्याब सेवा सञ्चालन गरेसंगै आफ्नो मुटु कतिको स्वास्थ्य छ भन्ने चेक जाँच गर्न सकिने जानकारी दिएको छ ।

विभिन्न रोगको सफल उपचार गर्दै आएको हस्पिटलले अत्याधुनिक उपकरण भित्र्यिाउने क्रम जारी रहेको बीएण्डसी टिचिङ हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिएका छन् ।

‘बीएण्डसी हस्पिटलमा विशेषज्ञ चिकित्सक सहित विश्वस्तरीय प्राविधि भित्रिरहेका छन्, यो हस्पिटल नेपाल र नेपालीहरुकै साझा सम्पत्ति हो, यसको विकास र उन्नतिका लागि सबै एक जुट हुन जरुरी छ,’ प्रसाईले भने ।

बीएण्डसी हस्पिटलसँग पूर्वका कुनै हस्पिटलहरुले प्रतिस्पर्धा गर्न नसक्ने भन्दै समृद्धिको सारथी बन्न प्रसाईले सबैसँग अनुरोध पनि गरे । उनले मेची अञ्चलमा मुटु रोगको विशेषज्ञता हासिल गरेको एक मात्र डाक्टर भएको हस्पिटल बीएण्डसी मात्र भएको दाबी समेत गरेका छन् ।

२८ करोड मुल्य बराबरको क्याथ ल्याब मेशिन ल्याएसँगै अब मुटु सम्बन्धि समस्याका विरामीको रोगको छिटो पहिचान गर्न सकिने कार्यकारी निर्देशक प्रसाईले बताए । उनले अब मेची अञ्चलका मुटु रोगीले अन्यत्र धाउनु पर्ने बाध्यताको अन्त्य भएको पनि बताए ।

पछिल्लो समय दैनिक रुपमा मुटु रोगीको संख्या बढ्दै गइरहेका बेला अत्याधुकि उपकरण सहितको उपचार सुरु भएपछि पूर्वका मुटु रोगीलाई ठूलो राहत मिलेको मुटु रोग विशेषज्ञ डाक्टर पञ्जियारले बताएका छन् ।

हस्पिटलले शनिबार पत्रकार सम्मेलन गरेर मुटु रोगको उपचार पद्धति र बीएण्डसीमा भित्रिएका उपकरणको बारेमा जानकारी गराईको थियो । हस्पिटलले नशा सम्बन्धि पूर्ण उपचार सेवा समेत सञ्चालनमा ल्याएको जनाइएको छ ।

न्यूरो सर्जन डाक्टर पंकजराज नेपालले नशा च्यापिएको बिरामीको शल्यक्रिया गरेर उपचार गर्न सकिने बताएका छन् । नशा च्यापिएको अप्रेशन गर्दा प्यरालाईसेस हुन्छ भन्ने धेरैमा भ्रम रहेको तर नशाको सफल सल्यक्रिया गरेर उपचार गरेमा यो समस्याबाट छुटकरा पाउन सकिने डा. नेपालको भनाइ छ ।

मानिसको अत्यन्त संवेदनशिल अंग टाँउको भएकाले टाँउकामा नशा च्यापिएका, ब्रेनटुमर जस्ता प्राणघातक या जस्तो सुकै उपचार पनि बीएण्डसी हस्पिटलमा हुन सक्ने जानकारी सो अबसरमा दिइयो । डा. नेपालले वर्षमा एक पटक सबैले आफ्नो स्वास्थ्यको जाँच गराउनु पर्ने सुझाव समेत दिएका छन् ।

बीएण्डसी हस्पिटलमा जटिल प्रकृतिका शल्यक्रियाहरु समेत सफलता पूर्वका सम्पन्न भएको भन्दै अब उपकरणहरु विश्वस्तरीय भएकाले चिकित्सकलाई काम गर्न पनि सहज भएको उनको भनाई छ ।

सबै प्रकारका रोगहरुको सफलताका साथ उपचार गर्दै आएको बीएण्डसी टिचिङ हस्पिटलले विश्वस्तरीय उपकरणका साथ विभिन्न विशेषज्ञ चिकित्सकहरु भित्र्यिाइ रहेको जनाइएको छ । मेची अञ्चलका झापासहित इलाम, पाँचथर,ताप्लेजुङ तथा मोरङ, सुनसरी, धनकुटा, तेह्रथुमका साथै भारतका विभिन्न स्थानबाट समेत उपचारका लागि बिरामीहरु आउने गरेको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिएका छन् । हस्पिटलले क्यान्सर रोगीलाई मध्यनजर गर्दै छुट्टै रुपमा पूर्वाञ्चल क्यान्सर अस्पताल पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ ।


क्लिकमान्डु