मकवानपुर र गोरखामा सालकको सर्वेक्षण



चितवन । राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ ।

मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए । यसअघि फागुन ९ गतेदेखि चितवनमा शुरु भएको अध्ययन बिहीबार मकवानपुरसँगै गोरखामा समेत थालिएको भट्टराईले जानकारी दिए । गोरखामा भने मिरकोट सामुदायिक वनमा सर्वेक्षण थालिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले हरियो वन कार्यक्रमको सहयोगमा सालक सर्भेक्षण शुरु गरेको हो । प्रदेश नं ३ का वन सचिव तथा क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले सालक पाइने प्वालमा क्यामेरा जडान गरी सो रानीवन सामुदायिक वनमा बिहीबार सर्वेक्षणको उद्घाटन गरेका थिए ।

वाग्लेले विश्वमै दुर्लभ भएकाले नेपाल सरकारले यो प्रजातिलाई संरक्षित सूचीमा राखेको र यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।

यसैगरी जिल्ला वन कार्यालय मकवानपुरका वन अधिकृत प्रल्हाद धितालले सालक संरक्षणका लागि जिल्ला वन कार्यालय समुदाय तथा साझेदार संस्थासँग मिलेर अगाडि बढ्ने बताए ।

न्युरेनी, चुच्चेखोला र अशोक सामुदायिक वन गरी मकवानपुरका चारवटा सामुदायिक वनमा अत्याधुनिक खालका ३० वटा क्यामरा राखेर क्यामेरा ट्रयापिङ विधिबाट सर्भे शुरु भएको हो ।

सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारीले यहाँ विगत १२ वर्षदेखि सालकको संरक्षण गर्दै आएको बताए। प्राप्त तथ्यांकले सालकको यथार्थ अवस्था पत्ता लाग्ने उनको विश्वास छ ।

लजालु स्वभावको स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा अवैध व्यापार हुन्छ । यसको नेपालमा खासै अध्ययन भएको छैन । विश्वमा आठ वटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले पारिस्थितिकीय प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्छ ।

अध्ययनले कस्तो प्रकृतिको माटोमा बस्छ, कुन दुलो सालकको हो, सालक र अन्य जनावरको दुलोमा के फरक छ र यसको बढी बासस्थान कहाँ रहेछ भनेर यकिन हुने कोषका संरक्षण अधिकृत भट्टराई बताउँछन ।


क्लिकमान्डु