‘अर्थमन्त्रीको निर्देशन’ले बढेको भन्सार राजस्व टिकेन, दैनिक १ अर्ब हाराहारीमा उठ्दै




काठमाडौं । अघिल्लो बुधबार देशभरका भन्सार कार्यालयहरुले करिब १ अर्ब २० करोड रुपैयाँ राजस्व संकलनको गरेको तथ्यांक सार्बजनिक भयो । दैनिक १ अर्ब रुपैयाँभन्दा कम राजस्व उठाउदै आएको भन्सार विभागले एकै दिन कसरी यति धेरै राजस्व उठायो भनेर सार्बजनिक बहस पनि भयो ।

त्यसको अघिल्लो दिन अर्थात मंगलबार नवनियुक्त अर्थमन्त्री डा. युवराज खतिवडाले सबै भन्सार प्रमुखलाई बोलाएर भन्सार बिन्दुमा कडाइ गर्न कडा निर्देशन दिएका भन्ने समाचार सार्बजनिक भएको थियो । अर्थमन्त्रीको निर्देशनको कारण सो दिन भन्सार राजस्व धेरै उठेको भन्नेसम्मका तर्कहरु पनि सार्बजनिक भए ।

यस्तो तथ्यप्रति नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले असहमति जनाउँदै ट्वीट गरे । उनले ‘मन्त्रीको निर्देशनले भन्सार राजस्व बढ्छ भने यो चिन्ताको विषय हो । राजस्व बढ्न त आयात बढ्नुपर्छ । होइन भने त विगतमा अपचलन भएको भन्ने स्वीकार गर्नु हो अथवा मुल्यांकन थपथाप गरेर असुली गर्नु हो,’ भनेर उनले आफ्नो ट्वीटमा उल्लेख गरेका थिए ।

भन्सार विभागले भने त्यसपछिका दिनहरुमा दैनिक औषत १ अर्ब रुपैयाँ बराबरको राजस्व उठ्दै आएको जानकारी दिएको छ । विभागका महानिर्देशक जगदीश रेग्मीले एक दिन बढी राजस्व उठेको भएपनि त्यसपछिका दिनहरुमा दैनिक औषत १ अर्ब रुपैयाँको हाराहारीमा भन्सार राजस्व उठ्दै आएको जानकारी दिए ।

सो दिन भैरहवा भन्सार कार्यालयमा विभिन्न कारण रोकिएका गाडी पास भएकोले बढी राजस्व संकलन भएको यस्तो यसअघि पनि हुने गरेको महानिर्देशक रेग्मीको भनाइ छ ।

‘एकै दिन बढी भन्सार राजस्व उठेको भनिएको दिन भैरहवा भन्सारमा रोकिएका धेरै गाडी पास भएको थियो, त्यसपछि सार्बजनिक बिदा नपरेका दिनहरुमा दैनिक १ अर्ब रुपैयाँ जतिको भन्सार राजस्व उठ्दै आएको छ,’ महानिर्देशक रेग्मीले क्लिकमाण्डूसँग भने ।

सरकारले चालु आर्थिक बर्षमा ३ खर्ब २५ अर्ब रुपैयाँ भन्सार राजस्व उठाउने लक्ष्य राखेको छ । एक बर्षमा ३६५ दिन हुने भएपनि जम्मा ३५० दिन मात्रै भन्सार कार्यालय खुल्ने गर्छन् । यो तथ्यांकका आधारमा भन्सारले आफ्नो लक्ष्य अनुसारको राजस्व उठाउन पनि दैनिक १ अर्ब रुपैयाँको हाराहारीमा राजस्व उठाउनै पर्ने हुन्छ ।


क्लिकमान्डु