काठमाडौं महानगरको सार्वजानिक सम्पत्ति अब जनताको सेवामा मात्रै प्रयोग गरिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक सम्पत्ति नागरिकको सेवामा समर्पित गर्ने अभियान शुरु गरेको छ । महानगरको वडा नम्बर ३ ले यस्तो अभियान शुरु गरेको हो ।

राष्ट्रपति भवन शितल निवास नजिकैको पुरानो काठमाडौं होटलले ओगटेको साढे ६ आना जग्गामा बनाइएको भवन भत्काएर सो अभियानको शुरुवात गरेको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, प्रशासकिय प्रमुख धनिराम शर्मा, ३ नम्बरका वडाध्यक्ष दिपक केसीलगायत स्थानिय, सुरक्षकर्मीको सहभागितमा सोमबार होटलले ओगटेको भवन भत्काइएको छ ।

मेयर शाक्यले सार्वजनिक सम्पति संरक्षण गर्ने महानगरपालिकाको योजना अनुसार अतिक्रमण भएका सार्वजनिक सम्पति फिर्ता गर्ने अभियान सुरु गरेको बताए ।

‘सार्वजनिक सम्पति सार्वजनिक कार्यका लागि प्रयोग गरिनु पर्छ, व्यक्ति, संघसस्थाले सार्वजनिक सम्पत्तिमा भवन निर्माण गरेर सम्पत्तिको भोगचलन गर्न पाउने छैनन्,’ मेयर शाक्यले भने ।

विभिन्न संघसंस्था, क्लबलगायतले सार्वजनिक सम्पतिमा भौतिक संरचना निर्माण गर्ने कार्यतर्फ इंकित गर्दौ शाक्यले भने– ‘खुल्ला ठाउँहरुको अभावले भूकम्पको समयमा हामीले निकै कष्ट भोग्नु परेको थियो, त्यसैले सार्वजनिक स्थानमा कुनै प्रयोजनका लागि भौतिक संरचना निर्माण गर्नुभन्दा खुल्ला क्षेत्रको रुपमा राख्नु पर्छ ।’

अतिक्रमण भएका सार्वजनिक सम्पतिहरु खोजी कार्य गर्नका लागि महानगरको बोर्डबाट निर्णय भइसकेको उनले जानकारी दिए ।

‘सार्वजनिक सम्पत्ति खोज्नका लागि ३२ वटै वडाका जनप्रतिनिधिहरु सकारात्मक छन्, त्यसका लागि जनप्रतिनिधिहरुलाई स्थानियको पूर्णसहयोगको आवश्यक पर्छ,’ उनले भने ।

महानगरका प्रशासकिय प्रमुख धनिराम शर्माले सार्वजनिक सम्पतिको संरक्षण गर्नु महानगरको दायित्व भएको बताए ।

‘सार्वजनिक सम्पतिहरु अतिक्रमणमा पर्दा शहर साँघुरो भएको छ, त्यस्ता सम्पतिको पहिचान गरेर खुल्ला स्थानको रुपमा विकास महानगरको दायित्व हो,’ शर्माले भने ।

काठमाडौं महानगरको वडा नम्बर ३ भित्रमा मात्र २ सय रोपनीभन्दा धेरै सार्वजनिक जग्गा अतिक्रमणको शिकार भएको वडाध्यक्ष दिपक केसी बताउँछन् ।

‘पुरानो काठमाडौं होटलले अतिक्रमण गरेको बनाएको भवन भत्काएर सार्वजनिक सम्पति फिर्ता अभियान सुरु गरिएको हो, अबको ३ महिनाभित्रमा हाम्रो वडाको क्षेत्राधिकारभित्र अतिक्रमणमा परेका सम्पूर्ण सार्वजनिक जमिन फिर्ता गर्ने छौं,’ वडाध्यक्ष केसीले भने ।

होटलले साढे ६ आना सार्वजनिक जग्गा अतिक्रमण गरेर विगत ४० वर्षदेखि भोगचलन गर्दौ आएको छ । हालको चलन–चल्ती अनुसार सो जग्गाको मूल्य ७ करोड रुपैयाँ हाराहारीमा पर्ने स्थानीय व्यक्तिहरुको भनाई छ ।

यस्तै ३ नम्बर वडाको क्षेत्रअधिकार भित्र पर्ने बाँसवारीको २२ रोपनी जग्गा विश्व हिन्दु महासंघले एउटा भवन निर्माण गरेर अतिक्रम गर्न खोजिरहेको छ । गायत्री समाजले ४२ आना सार्वजनिक सम्पति कब्जा गरेको छ । अब यी सम्पत्ति छिट्टै आम मानिसको पहुँचमा पुग्नेगरी फिर्ता लिने वडाध्यक्ष केसी बताउँछन् ।

सार्वजनिक सम्पतिलाई आम मानिसले प्रयोगगरी त्यसबाट लाभ प्राप्त गर्न सकनु भन्ने उद्देश्यले रानीबारी क्षेत्रको १ सय ३६ रोपनी वन क्षेत्रलाई वडाले व्यवस्थित गर्ने काम गरिरहेको छ ।

चालु आर्थिक बर्षमा रानीबारी क्षेत्रलाई पार्कको रुपमा विकसित गर्नका लागि २ करोड रुपैयाँ महानगरबाट विनियोजन भइसकेको छ । रानीबारी सुधारको पहिलो चरणको काम सकेर दोश्रो चरणको काम गर्न लागिएकको केसीले जानकारी दिए ।

रानीबारी क्षेत्र भित्र कुनै किसिमको भौतिक संरचना निर्माण नभए पनि अतिक्रमण शिकार भइरहेको थियो । सो क्षेत्र नेपाल प्रहरीको तालिम केन्द्र नजिक अवस्थित छ । रानीबारी क्षेत्रका केहि हिस्सा प्रहरीले कुकुरको प्रशिक्षणका लागि अघोषितरुपमा अतिक्रमण गरी प्रयोग गर्दै आएका छन् । साथै, लागु औषधि दुव्र्यसनीहरुले पनि केहि स्थानलाई आफ्नो अखडाको रुपमा प्रयोग गर्दै आएका थिए ।

महानगरपालिकाले आफ्नो योजना अनुसार काम गर्न सकेको खण्डमा सो क्षेत्रमा आम मानिसले स्वतन्त्रपूर्वक स्वच्छ हावामा शास फेर्ने वातावरण निर्माण हुने दाबी गरेको छ ।


पुष्प दुलाल