एनआरएनएले विदेशमा पिडीत महिलालाई नेपाल ल्याएर रोजगारीको ग्यारेन्टी गर्ने



काठमाडौं । गैरआवाशीय नेपाली संघ (एनआरएनए)ले वैदेशिक रोजगारीका क्रममा पिडीत महिलाहरुलाई नेपाल फर्काएर रोजगारीको ग्यारेन्टी गर्ने भएको छ ।

वैदेशिक रोजगारीका क्रममा पिडा भोगिरहेका महिलालाई स्वदेश फर्काउनका लागि पाइलट प्रोजेक्ट अगाडि बढाउन लागिएको एनआरएनएकी उपाध्यक्ष सपिला राजभण्डारीले बताइन् ।

अन्तराष्ट्रिय नारी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उपाध्यक्ष राजभण्डारीले यस्तो बताएकी हुन् ।

‘वैदेशिक रोजगारीका क्रममा पिडा भोगिरहेका महिलालाई नेपाल फर्काउन पाइलट प्रोजेक्ट अगाडि बढाउन लागेका छौं, यसका लागि सरकारसँग समन्वय गरेर अगाडि बढ्छौं,’ उपाध्यक्ष राजभण्डारीले भनिन् ।

सुनौलो सपना बोकेर दैनिक रुपमा सयौंका संख्यामा नेपाली महिलाहरु वैदेशिक रोजगारीका लागि खाडीलगायत मुलुक जाने गरेका छन् । आत्मनिर्भर बन्नका लागि विदेश होमिएका महिलाहरुले विदेशमा विभिन्न प्रकारका पिडीहरुको शिकार हुने गरेका छन् ।

विदेशमा नेपाली चेलीले पिडाको सामना गर्नु असह्य हुने बताउँदै उनले भनिन्, ‘पिडीत नेपाली महिलाई स्वदेश भित्र्याउने तयारीमा जुटिसकेका छौं, उनीहरुलाई रोजगारीको ग्यारेन्टी गर्नका लागि हामीलाई सरकारबाट सहयोग चाहिन्छ ।’

२०७२ साल वैशाख १२ को विनास्कारी भूकम्प गएदेखि हजारौंका संख्यामा नेपाली महिला वैदेशिक रोजगारीमा गएको परराष्ट्र मन्त्रालयका सह–सचिव कृष्ण ढकालले बताए ।

‘विदेश गएका धेरै जस्तो महिलाहरु रित्तो हातका साथै पेटमा तथा हातमा बच्चा बोकेर फर्किने गरेका छन्, त्यस्ता महिलाहरु समाजमा तिरस्कारपूर्ण जीवन व्यतित गर्न बाध्य छन्,’ सह–सचिव ढकालले भने ।

वैदेशिक रोजगारीका क्रममा पिडीत हुने महिलाहरुमा गौर कानुनी रुपमा भारतबाट वा विना स्विकृति जाने महिलाहरुको संख्या अधिक हुने गरेको छ । त्यस्ता कार्यलाई रोक्नका लागि सरकारको तर्फबाट उचित कार्यक्रम तथा नीतिहरु ल्याइए पनि त्यो कार्यन्वयन हुन नसकेको उनी बताउँछन् ।

उपाध्यक्ष राजभण्डारका अनुसार खाडी मूलुकमा ८० हजारभन्दा धेरै नेपाली महिलाहरु अवैधानिक तरिकाले काम गरिरहेका छन् ।

‘नेपालमा रोजगारीको अवसर नभएकाले विभिन्न पिडा सहेर नेपाली महिलाहरु विदेशमा काम गर्न बाध्य छन्, उनीहरुलाई स्वदेश फकाएर स्वारोजगार बनाउन सरकारबाट उचित कदम चाल्न आवश्यक छ,’ राजभण्डारीले भनिन् ।

एनआरएनले प्रत्यक बर्ष महिलाहरुका लागि सिप–मूलक कार्यक्रमहरु आयोजाना गर्ने गरेको छ । यस्ता सिप–मूलक कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउन सकिए नेपाली महिलाहरुले वैदेशिक रोजगारीको क्रममा पिडाको भोग्नु नपर्ने राजभण्डारीको भनाई छ ।


क्लिकमान्डु