प्रधानमन्त्री ओलीले भनेः गौतम बुद्ध नेपालमा जन्मेका हुन्



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा भएको बताएका छन् ।

‘शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु ।’गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’ मा कायम गर्न विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।

केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उहाँले नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्न नपर्ने भन्दै बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगर्न ओलीले आग्रह गरे ।

विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै उनले सिरियामा भइरहेको हत्या हिंसाको विरोध गरे । प्रधानमन्त्रीले भने, ‘दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौँ, शान्ति र मित्रताले अगाडि बढौँ ।’ उनले आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आह्वान गरे ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण थियो ।

बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको आयोजकको दाबी छ ।

यसअघि त्यसरी त्यही संख्यामा धम्मपद सामूहिक रुपमा वाचन नभएको सन्दर्भमा ‘गिनिज बुक अफ द वल्र्ड रेकर्डस्’मा उक्त प्रयास अभिलेखीकरण गरेर कीर्तिमान बन्ने पक्का भएको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीहरु, कलाकार, विद्यार्थीसहित विभिन्न पेशा व्यवसायमा रहेका नेपालीले आज टुँडिखेलमा बसेर सामूहिक वाचन गरेका हुन् ।

आयोजकका तर्फबाट प्रतिष्ठा अमात्यले बुद्धको वचन वाचनका लागिमात्र नभई पालना गर्नका लागि भएको बताए । रासस


क्लिकमान्डु