रक्तसञ्चार केन्द्रको भवन प्रदर्शनी मार्गमै बन्ने



काठमाडौँ । रक्तदाता र रगत आवश्यक पर्ने बिरामीका आफन्तलाई सहज पहुँचको स्थान यहाँस्थित प्रदर्शनी मार्गमा नै केन्द्रीय रक्तसञ्चार केन्द्रको अत्याधुनिक भवन निर्माण हुने भएको छ ।

विसं २०२३ देखि सुरक्षित र स्वच्छ रक्तसञ्चार सेवा तथा रगतको अनुसन्धानसमेत गर्दै  आएको सो केन्द्रको भवन विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको थियो । नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालित सो केन्द्र हाल अस्थायी रुपमा ललितपुरको ग्वार्काेबाट सञ्चालित हुँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनको भवन मापदण्ड एवं केन्द्रका लागि आवश्यक उपकरणका लागि  नेपाल रेडक्रसलाई थाइल्याण्ड(थाई) रेडक्रसले करीव रु ४५ करोड आर्थिक सहयोग प्रदान गरेको छ  । सोसाइटीका अध्यक्ष सञ्जीव थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र  नेपालका लागि थाई राजदूत भागवत तान्स्कुलले संयुक्त रुपमा भवनको आज शिलान्यास गरे ।

सोसाइटीका प्रबन्ध निर्देशक एवं भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालका अनुसार पाँचतले अत्याधुनिक सो भवन  १८ महिनाभित्र बन्नेछ । भवनमा रक्त सेवालगायत अनुसन्धान कक्षसमेत रहनेछ । भवन निर्माणको जिम्मा लामा कन्ट्रक्सन कम्पनीले पाएको छ ।

सर्वोच्च मानवीय सस्था नेपाल रेडक्रसका विभिन्न मानवीय कार्यक्रममध्ये रक्तसञ्चार सेवा उच्च प्राथमिकतामा छ । हाल यसले करीव सबै जिल्लामा रक्तसञ्चार सेवा पुर्याएको छ । केन्द्रीय रक्तसञ्चार केन्द्रमा दैनिक ४०० युनिटभन्दा बढीको रगत माग हुने गरेको र सोही अनुपातमा आपूर्तिसमेत हुने गरेको सोसाइटीका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिए । गत वर्ष मात्र केन्द्रले करीव तीन लाख ३७ हजार ३२१ युनिट रगतको सेवा दिएको थियो ।

कार्यक्रममा सांसद जीपछिरिङ शेर्पाले मापदण्डअनुसारको भवन समयभित्र गुणस्तरीय र सुरक्षित रुपमा बन्ने जानकारी दिए । कामपाका प्रमुख शाक्यले  सामाजिक संघसंस्थाको भवन निर्माण गर्दा नक्शा पासमा करको छुटको व्यवस्था गरिएको जानकारी दिए । सोसाइटीका अध्यक्ष थापा र महामन्त्री देवरत्न धाख्वाले रगतको सुरक्षा र स्वच्छतामा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गरे।

थाई राजदूत तान्स्कुलले आगामी दिनमा नेपाल रेडक्रसलाई थप सहयोग गरिने जानकारी दिए।  रक्तसञ्चार केन्द्रका निर्देशक डा रेखा मानन्धर तथा थाई रेडक्रसका निर्देशक डा उबोनवोन चारुवाङग्रीटले रक्तसञ्चार सेवाको महत्वबारेमा जानकारी दिएका छन्।


क्लिकमान्डु