काठमाडौंको १० हजार रोपनीमा नयाँ शहर बनाउन संभाव्यता अध्ययन गर्न फेरि टेन्डर गरिने



काठमाडौं । काठमाडौं उपत्यका प्राधिकारणले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिनमा बन्ने नयाँ शहरको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्ने कम्पनी फेरी खोज्ने भएको छ । प्राधिकारणले नयाँ शहरको डीपीआर निर्माणका लागि आव्हान गरेको टेण्डरमा उपयुक्त प्रस्ताव आउन नसकेकाले नयाँ प्रस्ताव मार्फत कम्पनी छनोट गर्न लागेको हो ।

काठमाडौं जिल्लाको १० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डीपीआर निर्माण गर्ने कम्पनी छनोट गर्नका लागि फेरि टेण्डर आव्हान गर्न लागिएको काठमाडौं उपत्यका विकास प्राधिकारणका आयुक्त डा. भाइकाजी तिवारीले जानकारी दिए ।

‘काठमाडौंको १० हजार रोपनी क्षेत्रफलको डीपीआर बनाउने कम्पनी छनोट हुन सकेनन्, २/३ दिन भित्रमा १५ दिनको सार्वजनिक सूचनामार्फत् डीपीआर बनाउने कम्पनीबाट पुनःप्रस्ताव माग्ने छौं,’ आयुक्त तिवारीले क्लिकमाण्डूसँग भने ।

प्राधिकारणले काठमाडौं उपत्यकामा बढ्दै गएको अव्यवस्थित शहरीकारणलाई व्यवस्थित बनाउनका लागि ३ जिल्लाका १ लाख ३० हजार रोपनी क्षेत्रफलमा ४ वटा नयाँ शहर बनाउने अवधारणा अघि बढाइरहेको छ ।

सोही अवधारणा अनुसार भक्तपुर र ललितपुर जिल्लाको १०/१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरका लागि डीपीआर निर्माण गर्ने ठेकेदार कम्पनी गत बुधबार छनोट गरिसकिएको छ । नेपाली ठेकेदार कम्पनी इआरएमसी-एइएसटी-एडीएले सम्झौता भएको मितिको १ बर्ष भित्रमा ती २ स्थानको डीपीआर निर्माण गर्ने छन् ।

यस्तै, काठमाडौं जिल्लाको १ लाख रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डीपीआर बनाउने कम्पनी छनोट चरणमा छ । डीपीआरका लागि पेश भएका कम्पनीहरुको प्रस्तावको मूल्याङकनमा प्राधिकारण छ । प्राधिकारणको मूल्याङकनबाट उत्कृष्ट ठहरिने कम्पनीले काठमाडौंको १ लाख रोपनी क्षेत्रफलमा बन्ने नयाँ शहरको डीपीआर निर्माण गर्ने छ ।

पुन डीपीआरका लागि आव्हान गरिने स्थान

काठमाडौं उत्तर
काठमाडौ जिल्लाको नयाँ हरित सहर विस्तार क्षेत्र हो । पूर्वः सामाकोसी, टोखा रोडहुँदै बाइपास । पश्चिमः काभ्रेस्थली बाइपास जाने मुल सडक । उत्तरः सपनातिर्थ मालुङ हुँदै काभ्रेस्थली । दक्षिणः ग्रीनल्याण्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मुल सडक पुलसम्म करिब १० हजार रोपनी क्षेत्रफल ।


पुष्प दुलाल