टेलिफोनमा १० प्रतिशत कर लगाएर हाइड्रोपावर बनाउने कुलमानको योजना



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टेलिफोनमा कर लगाएर उठेको पैसाबाट हाइड्रोपावर बनाउने तयारी भइरहेको बताएका छन् ।

नेपालमा वर्षेनि २ खर्ब रुपैयाँ बराबरको टेलिफोन हुने र त्यसमा १० प्रतिशत अतिरिक्त कर लगाएर २० अर्ब रुपैयाँ रकम जम्मा गर्न सकिने बताए ।

नेपालमा अहिले १ मेगावाट हाइड्रो बनाउन १७/१८ करोड रुपैयाँ लाग्ने विभिन्न अध्ययनले देखाएको छ । जसअनुसार यसरी टेलिकममा अतिरिक्त १० प्रतिशत कर लगाउँदा १०० मेगावाटा विद्युत उत्पादन क्षमताको विद्युत आयोजना निर्माण गर्न सकिन्छ ।

‘नेपालीहरुले एक वर्षमा फोन र डाटा इन्टरनेटमा २ खर्ब रुपैयाँ बराबरको टेलिफोन गर्छन्,’ पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा घिसिङले भने ।

जलविद्युत आयोजना निर्माणमा लगानीको समस्या नरहेको भन्दै उनले ईच्छाशक्ति भए स्वदेशी लगानीमै वर्षेनी २ सय मेगावाट विद्युत उत्पादन गर्न सकिने दाबीसमेत गरे ।

बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि भन्दै सरकारले पेट्रोल, डिजेल र हवाई इन्धनमा प्रतिलिटर ५’५ रुपैयाँ कर उठाउँदा करिब २० अर्ब रुपैयाँ जम्मा भएको छ । पेट्रोलियम कर जसैगरी टेलिफोनमा पनि कर लगाउन सके वार्षिक जलविद्युत आयोजनामा लगानी गर्ने पैसा जुटाउन सकिने कुलमानको भनाई छ ।

तत्कालीन कृषि तथा जलस्रोत समितिका सभापति गगन थापाले बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै बनाउन सकिने र त्यसमा टेलिफोनमा कर लगाएर मोटो रकम जुटाउन सकिने प्रस्ताब सरकारलाई बुझाएका थिए । थापाले गरेको प्रस्ताबमा यसरी ग्राहकले टेलिफोन गर्दा काटिएको पैसा हाइड्रोपावरको सेयर लगानीका रुपमा राखिनुपर्ने उल्लेख छ ।

भियतनाम सरकारले यसरी नै टेलिफोनमा कर तथा विभिन्न स्किम ल्याएर ठूला जलविद्युत आयोजनाहरुमा लगानी जुटाइ आयोजना सम्पन्न गरेको उदाहारणले पनि यो स्किम नेपालमा सफल हुनसक्ने देखिन्छ ।


पुष्प दुलाल