तपाईंलाई कति कित्ता पर्ला रसुवागढी र साञ्जेनको शेयर ? यस्तो छ हिसाब



काठमाडौं । चिलिमे जलविद्युत् कम्पनीका दुई सहायक जलविद्युत् कम्पनीले आजदेखि सिमित साधारण शेयर बिक्री गर्ने भएको छ ।

रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले आजदेखि साधारण शेयर बिक्री गर्न लागेका हुन् । यी दुई कम्पनीले पहिलो चरणका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि साधारण शेयर विबक्री गर्न लागेको हो ।

दुई कम्पनीको कूल २ अर्ब ५१ करोड ६० लाख बराबरको साधारण शेयर बिक्री गर्न लाग्दा कति कित्ता शेयर पर्ला भन्ने आम मानिसमा जिज्ञासा रहेको छ ।

ती दुवै आयोजनामा कर्मचारी सञ्चयकोषको लगानी भएकाले कोषमा कार्यरत कर्मचारीले भने अरु सञ्चयकर्ताको तुलनामा बढी शेयर पाउने छन् । सञ्चयकर्ताले साञ्जेन जलविद्युत् कम्पनीको बढीमा ३०० कित्ता शेयर आवेदन गर्न सक्नेछन् भने

रसुवागढीका लागि बढीमा ५०० कित्ता शेयर आवेदन गर्ने व्यवस्था मिलाइएको छ । कोषका कर्मचारीले भने दुई हजार ५०० कित्तासम्म साधारण शेयरमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

रसुवागढी हाइड्रोपावर कम्पनीलाई १ अर्ब ६४ करोड रुपैयाँ बराबरको साधारण शेयर निष्कासन गर्नेछ । कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई १ करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।

सो कम्पनीको शेयरमा सञ्चयकोषका करिब ८ लाख ६८ हजार ३९५ जना सञ्चयकर्ताले आवेदन दिन पाउनेछन् । यस आधारमा हिसाब गर्दा एक सञ्चयकर्ताले करिब २० कित्ता शेयर पाउने सम्भवना रहेको छ ।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीले रु ८७ करोड ६० लाख बराबरको साधारण शेयर शुक्रबारदेखि बिक्री गर्नेछ । सो कम्पनीको बिक्री प्रबन्धकमा नागरिक लगानीकोष रहेको छ । रसुवामा नै सो कम्पनीले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन आयोजना निर्माण गरिरहेको छ ।

सो कम्पनीको शेयरमा ७ लाख २९ हजार ७६१ जनाले आवेदन गर्न पाउनेछन् । त्यस आधारमा हेर्दा सो कम्पनीको १२ कित्ता शेयर पर्ने सम्भवना रहेको छ ।


पुष्प दुलाल