पर्यटन क्षेत्र बुम, छ महिनामा ३३ अर्ब आम्दानी, चालु आर्थिक वर्षमा कति पुग्ला ?



काठमाडौं । पर्यटन क्षेत्रको आम्दानी चालु आर्थिक वर्षको पहिलो ६ महिनामा गत वर्षको भन्दा २७ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पहिलो ६ महिनामा पर्यटन क्षेत्रले ३३ अर्ब ७ करोड रुपैयाँ आम्दानी गरेको छ ।

उक्त रकम गतवर्षको भन्दा २७.५ प्रतिशतले बढी हो । सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

पर्यटक बढेसंगै पर्यटन क्षेत्रको आम्दानी समेत बढेको हो । आलु आर्थिक वर्षमा पर्यटन क्षेत्रबाट ६० अर्ब भन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ । गत वर्ष ४६ अर्ब रुपैयाँ आम्दानी भएको थियो । त्यस्तैगरी प्रतिपर्र्यटक खर्चसमेत यसवर्ष ७० डलर पुगेको छ ।

गतवर्ष ५२ डलर मात्रै रहेको थियो । त्यस्तैगरी बसाई अवधी समेत १३.४ दिन पुगेको छ । गतवर्ष १२ दिनमात्रै रहेको थियो । होटल संघ नेपाल (हान) का अनुसार सन् २०१८ मा होटलको अकुपेन्सी समेत बढेर ६५ प्रतिशत पुगेको छ । गतवर्ष सोही अवधीमा ६० प्रतिशतमात्रै अकुपेन्सी रहेको हानका महासचिव बिनायक शाहले जानकारी दिए ।

सन् २०१७ मा ९ लाख ४० हजार २ सय १८ विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१६ मा ७ लाख ५३ हजार २ जना पर्यटक नेपाल भ्रमण आएका थिए ।

सन् २०१७ मा गत वर्ष भन्दा १ लाख ८७ हजार २ सय १६ पर्यटक बढी आएका हुन । जुन सन् २०१६ को भन्दा २४ प्रतिशतले बढी हो । सन् २०१८ मा पनि यही बृद्धिदर जारी रहेमा १२ लाख हाराहारी पर्यटक नेपाल भ्रमणमा आउने छन् । ‘स्थिर सरकार तथा आर्थिक मुद्दामा अव बन्ने सरकारले केन्द्रित ग¥यो १२ लाख भन्दा बढी पर्यटक सन् २०१८ मा आउने देखिन्छ,’ महासचिव शाहले भने ।

नयाँ विमानस्थल तत्काल तयार नभएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही व्यवस्थापन गरेमा पनि पर्यटक आगमनदर बढाउन सकिने दावी शाहको छ ।

नेपाल एसोसिएन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष मधुसुदन आचार्य पनि सन् २०१८ मा १२ लाख भन्दा बढी पर्यटक नेपाल भ्रमण आउने बताउँछन् ।

‘बार्षिक ३० प्रतिशतको बृद्धि गराउन सक्यौ भने सन् २०३० सम्ममा बार्षिक ५० लाख पर्यटक नेपाल भित्र्याउ सक्छौ,’ आचार्यले भने । जसको लागि सरकारले पूर्वाधारमा विशेष जोड दिन आवस्यक भएको उनको बुझाई छ ।


क्लिकमान्डु