१९ वटा पुरातात्विक संरचना पुनःनिर्माण गर्दै विभाग



काठमाडौं । पुरातत्व विभागले चालु आर्थिक बर्षमा थप १९ वटा पुरातत्विक सम्पदा पुनःनिर्माण गर्ने भएको छ । विभागले चालु आर्थिक बर्षमा सम्पन्न गर्ने गरि १९ वटा पुरातात्विक संरचनाको ठेक्का सम्झौता गर्ने तयारी गरेको छ ।

पुरातत्व विभागले २०७२ साल वैशाख १२ गतेको विनास्कारी भूकम्पबाट ७ सय ५३ वटा पुरातात्विक सम्पदामा क्षति पुगेको रिर्पोट सार्वजनिक गरेको थियो । जसमध्यृमा १ सय ३३ वटा सम्पदा पूर्णरुपमा ध्वस्त भएको थियो भने बाँकी ६ सय २० वटा सम्पदामा अांशिक क्षति पुगेको विभागले जानकारी दिएको थियो ।

२०७४ सालमा विभागले सार्वजनिक गरेको रिर्पोटमा १५ सय ९८ वटा पुरातत्विक सम्पदा भूकम्पबाट क्षति पुगेको उल्लेख छ । पछिल्लो पटक विभागले सार्वजनिक गरेको रिर्पोटमा गुम्बाहरु सूचिकृत छन् । सय बर्ष नपुगेका गुम्बाहरु पुरातत्वीक संरचनामा नपर्ने हुँदा त्यस किसिमको गुम्बाहरुको पुनःनिर्माण विभागले नगर्ने जानकारी दिएको छ ।

भूकम्पको गएको ३ बर्षमा विभागले ८२ वटा पुरातात्विक संरचनाको पुनःनिर्माण गरिसकेको छ ।

चालु आर्थिक बर्षमा १९ वटा पुरातात्विक संरचना पुनःनिर्माण गर्नेगरी ठेक्का सम्झौता अगाडी बढाउन लागिएको विभागका योजना मूल्याङकन तथा प्रकाशन शाखा क्यूजापाअ मञ्जुसिंह भण्डारीले जानकारी दिइन् ।

‘१९ वटा पुरातात्विक संरचना पुनःनिर्माणका लागि सार्वजनिक सूचना मार्फत टेण्डर प्रस्ताव माग गरिएको छ, टेण्डरमा परेको प्रस्तावको मूल्याङकन लगतै ठेक्का प्रक्रिया अगाडि बढ्ने छ,’ उनीले क्लिकमाण्डूसँग भनिन् ।

ठेकेदार कम्पनीले यी संरचनाहरु असारमसान्तसम्म सम्पन गर्नेगरी काम गर्नु पर्ने पनि उनीले जानकारी दिइन् ।

साथै, विभागले बहुवर्षिय योजना अनुसार ४१ वटा पुरातात्विक संरचना पुनःनिर्माण गर्ने तयारी गरिरहेको छ ।

बहुवर्षिय योजनाका लागि विभागले पुनःनिर्माण प्राधिकरणको सहमतिका लागि पहल गरिरहेको उनले जानकारी दिइन् ।

‘एक बर्षको बजेटले अपूग हुने संरचनालाई बहुवर्षिय योजनामा लाने गरिएको छ, त्यसका लागि प्राधिकरणसँग सहमति लिन आवश्यक हुन्छ,’ उनीले भनिन् ।


क्लिकमान्डु