सडक जाम कम गर्न काठमाडौंमा ९ वटा पुल निर्माण थालियो, कहाँ कहाँ बन्दैछन् ?



काठमाडौं । काठमाडौंमा बढ्दै गएको सडक जाम कम गर्नका लागि सरकारले थप ९ वटा पुल निर्माण प्रक्रिया अघि बढाएको छ । बढ्दो ट्राफिक जामलाई अन्त्य गर्नका लागि सडक विभागले थप ९ वटा पुल निर्माण गर्न लागेको हो ।

काठमाडौंका सडकलाई व्यवस्थित गर्न विभिन्न ९ स्थानमा पुल निर्माणको तयारी गरिरहेको डिभिजन सडक कार्यालय काठमाडौं १ का सूचना अधिकारी सुसिलप्रसाद राजभण्डारीले जानकारी दिए ।

‘९ वटा पुलमध्ये २ वटाको ठेक्का सम्झौता गरिए पनि अदालतको अवरोध र डिजान परिवर्तन गर्नु परेकाले निर्माण अगाडि बढ्न सकेको छैन, अन्य ७ पुलमध्ये केहि डिजाइन प्रक्रियामा र मूल्याङकन प्रक्रियामा छन्,’ राजभण्डारीले क्लिकमाण्डूसँग भने ।

धोवी खोला पुल, संगमचोक नयाँ बानेश्वरका लागि जयओम/ओमिका जेभीसँग ठेक्का सम्झौता भएको छ । सो पुलको डिजाईन परिवर्तन गर्नु पर्ने भएकाले ठेक्का सम्झौता अन्त्य गरी नयाँ व्यवस्थापन गर्ने प्रक्रियामा रहेको राजभण्डारीले जानकारी दिए ।

यस्तै, धोवी खोला पुल देवी नगर मैतीदेवी जोड्नेका लागि भण्डार थोडुङ/वल्र्डसँग २ करोड ७४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, अदालतको रोक्का आदेशका कारण निर्माण प्रक्रिया सुरु हुन नसकेको कार्यालयले जानकारी दिएको छ ।

यस्तै ३ वटा पुल ठेक्का प्रक्रियामा रहेका छन् । कार्यालयले ठेक्का लागि आव्हान गरेको टेण्डर प्रक्रियामा सहभागी कम्पनीहरुको मूल्याङकनमा विभाग लागि रहेको उनले जानकारी गराए ।

बुढानिलकण्ड नगरपालिका वडा नम्बर १ र ४ जोड्ने पुल, मनमता खोला पुल शंखरापुर र घट्टे खोला पुल शंखरापुर ७ साँखु मूल्याङकनका चरणमा छन् ।

साथै, ४ वटा पुल निर्माणका लागि विभागले डिजाइनको काम अगाडि बढाई रहेको पनि उनले जानकारी दिए ।

मनहरा खोला इन्द्रायणी चाँगुनारायण पुल, कपन महांकाल जोड्ने निखिलेश्वर पुल, महदेव खोला पुल मितेरी मार्ग कागेश्वरी र महदेव खोला पुल मितेरी मार्ग कागेश्वरी डिजाइन प्रक्रियामा रहेको कार्यालयले जानकारी दिएको छ ।


पुष्प दुलाल