खर्बपति बिनोद चौधरी एक्लैले ४२ दिनसम्मको सबै सरकारी खर्च धान्न सक्ने



काठमाडौं । संसारका अर्बपतिको सम्पत्तिले सरकारी खर्च कति दिनसम्म चल्न सक्ला ? त्यो सबैलाई कौतुहलताको विषय हो ।

ब्लूमर्गले ४९ देशका अर्बपतिको सम्पत्तिबाट उनीहरुको सरकार कति दिनसम्म चल्नसक्छ भन्ने एउटा सर्वेक्षण सार्वजनिक गरेको छ ।

जसमा संसारकै धनी व्यक्ति जेफ बेजोसको सम्पत्तिले अमेरिकी सरकारले गर्ने ५ दिनको खर्च धान्न सक्ने ब्लुमवर्गको रिपोर्टमा उल्लेख छ । त्यसैगरी, चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको सम्पत्तिबाट चीन सरकारको ४ दिनको सबै खर्च चल्न सक्छ ।

भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको सम्पत्तिबाट भारत सरकारले आफ्नो खर्च २० दिन धान्न सक्ने रिपोर्टमा उल्लेख छ ।
सर्वेमा नेपाल र नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी भने समावेश गरिएको छैन । हामीले विनोद चौधरीसँग भएको अहिलेको सम्पत्ति र यो वर्ष सरकारले ल्याएको बजेट र खर्च गर्ने आधारमा उनको सम्पत्तिले नेपाल सरकारको कति दिनको खर्च धान्छ भनेर हेरेका थियौं ।

यसरी हेर्दा चौधरीको सम्पत्तिले मात्र नेपाल सरकारले ४२ दिनसम्मको खर्च धान्न सक्ने देखिएको छ ।

यो वर्ष सरकारको बजेट १२ खर्ब ७८ अर्बको छ । यस आधारमा सरकारले गर्ने दैनिक औसत खर्च साढे ३ अर्ब रुपैयाँ हुन आउँछ ।

फोब्र्सको रियलटाइम सूची अनुसार विनोद चौधरीसँग १ अर्ब ५२ करोड अमेरिकी डलर सम्पत्ति छ । यसलाई नेपालीमा रुपान्तरण गर्दा १ खर्ब ५२ अर्ब रुपैयाँ आउँछ ।

यसरी सरकारले यो वर्षे गर्ने खर्चको आधारमा चौधरीसँग भएको सम्पत्ति तुलना गर्दा उनको सम्पत्तिबाट सरकार करिब ४३ दिनसम्म संचालन हुनसक्ने देखिन्छ ।

हामीले माथी नै भनिसक्यौ ब्लूमर्गले गरेको सर्वेमा नेपाल र बिनोद चौधरी समावेश छैनन् । सर्वेलाई आधार बनाएर नेपाल सरकारले गर्ने खर्च र अर्बपति चौधरीको सम्पत्तीलाई तुलना गरिएको मात्रै हो ।

सर्वेमा समावेश भएको सूचिमा साइप्रस अर्बपतिको सम्पत्तिले देश एकवर्षभन्दा बढी समय संचालन हुन सक्ने देखाएको छ । साइप्रस दैनिक खर्च २.३६ करोड डलर छ । साइप्रसका सबैभन्दा धनी व्यक्ति जोन फ्रेडरिकसनसँग १०.४ अर्ब अमेरिकी डलरको सम्पत्ति छ । उनको सम्पत्तिबाट साइप्रसको सरकार ४४१ दिनसम्म चल्न सक्ने रिपोर्टमा उल्लेख छ ।

ब्लुमबर्गको रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्


पुष्प दुलाल