ट्राफिक जाम कम गर्न काठमाडौंका ७ ठाउँमा ९ वटा पुल बनाइँदै



काठमाडौं । काठमाडौंको सडकलाई व्यवस्थित बनाउन विभिन्न स्थानमा पुल निर्माण कार्यलाई तीब्रता दिइएको छ । बढ्दो ट्राफिक जामलाई अन्त्य गर्न सडक विभागले पुल निर्माण गरेको हो ।

काठमाडौंमा ४३ करोड ८८ लाख रुपैयाँ लागतमा ७ स्थाना नयाँ ९ वटा पुल निर्माणधीन अवस्थामा छन् । डिभिजन सडक कार्यालय काठमाडौं १, मिनभवनले ९ करोड ७४ लाख रुपैयाँ लागतमा ५ वटा पुल र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २ स्थानमा ४ वटा पुल ३४ करोड १४ लाख रुपैयाँमा पुल निर्माण गरिरहेको छ ।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अरनिको राजमार्गमा पर्ने धोवी खोला र बगामती गरी ४ वटा पुल निर्माण गरिरहेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले जानकारी दिए ।

विगत केहि बर्षदेखि काठमाडौंमा सडक विस्तारका काम तीब्र गतिमा भईरहेका छन्, सडक विस्तारसँग पुलको पनि आवश्यक पर्ने भएकाले नयाँ पुल बनाउन सुरु गरिएको हो ।

‘अरनिको राजमार्ग अन्तरर्गत पर्ने धोवी खोला र बागमती नदीको पुल सडक अनुपातमा साँधुरो छ, साँधुरो पुलबाट सवारी पार गर्ने क्रममा हुने जामलाई न्युनीकरण गर्नका लागि नयाँ पुल बनाउन सुरु गरिएको हो,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने ।

आयोजनाले धोवी खोला पुलका लागि जेई कन्स्ट्रक्सनसँग १३ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पुल निर्माणको ३० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदासम्म ठेकेदार कम्पनीलाई ४२ प्रतिशत रकम अर्थात् ५ करोड ५८ लाख रुपैयाँ भुक्तानी दिएको आयोजनाले जानकारी दिएको छ ।

यस्तै,आयोजनाले बागमती खोला पुलका लागि पप्पु कन्स्ट्रक्सनसँग २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पुल निर्माणको २० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदासम्म ठेकेदार कम्पनीलाई २८ प्रतिशत रकम अर्थात् ५ करोड ८८ लाख रुपैयाँ भुक्तानी दिएको आयोजनाले जानकारी दिएको छ ।

२०७१ सालमा माइतीघरदेखि तिनकुनेको सडक विस्तार गरिएको थियो । त्यस समय सडक अनुसारको पुल भने विस्तार गरिएको थिएन । अहिले भने सडकको चौडाई अनुसारको पुल निर्माण गर्न लागिएको हो ।

काठमाडौं जिल्लाका थप ५ स्थानमा पुल निर्माण गरिरहेको डिभिजन सडक कार्यालय काठमाडौं १ मिनभवनका सूचना अधिकारी सुसिलप्रसाद राजभण्डारीले जानकारी दिए ।

‘विगत केहि बर्षदेखि काठमाडौंमा सडक विस्तारका काम तीब्र गतिमा भईरहेका छन्, सडक विस्तारसँग पुलको पनि आवश्यक पर्ने भएकाले नयाँ पुल बनाउन सुरु गरिएको हो,’ राजभण्डारीले भने ।

कार्यालयले बीपी म्युजियम, सुन्दरीजल सडकस्थित बागमती पुल मिची कन्स्ट्रक्सनसँग एण्ड कम्पनीसँग १ करोड ७३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदासम्म ठेकेदार कम्पनीलाई ८६ प्रतिशत अर्थात् १ करोड ४९ लाख रुपैयाँ भुक्तानी दिएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले बौद्ध ताम्रगंगा सडकस्थित बागमती पुलका लागि महादेव खिम्ती/मिची कन्स्ट्रक्सनसँग एण्ड कम्पनीसँग २ करोड ६६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।

पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदासम्म ठेकेदार कम्पनीलाई ७८ प्रतिशत अर्थात् २ करोड ८ लाख रुपैयाँ भुक्तानी दिएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले धोवी खोला पुल अनामनगर पुलका लागि भण्डार थोडुङ÷जिटेक जेभीसँग ३ करोड ३६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पुल निर्माणको ४० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदासम्म ठेकेदार कम्पनीलाई २७ प्रतिशत अर्थात ९७ लाख १६ हजार रुपैयाँ भुक्तानी दिएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले घट्टेखोला पुल गागलफेदीका लागि भण्डार थोडुङ/वल्र्ड वाइड/गौरी गणेश जेभीसँग १ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पुल निर्माणको ८० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदासम्म ठेकेदार कम्पनीलाई ७२ प्रतिशत अर्थात् १ करोड १६ लाख रुपैयाँ भुक्तानी दिएको कार्यालयले जानकारी दिएको छ ।

कार्यालयले गाडगड खोला पुलका लागि महालक्ष्मी/वल्र्डवाइड/आर एण्ड सि जेभीसँग ३ करोड १५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । पुल निर्माणको ९० प्रतिशत भौतिक प्रगति सम्पन्न हुँदासम्म ठेकेदार कम्पनीलाई ९४ प्रतिशत अर्थात् २ करोड ९७ लाख रुपैयाँ भुक्तानी दिएको कार्यालयले जानकारी दिएको छ ।


पुष्प दुलाल