कांग्रेसको समानुपातिक सांसदमा उद्योगपति बिनोद चौधरी परे, प्रभु समूहका भट्टचन परेनन्



काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

समानुपातिक सूचीमा खस/आर्य (पुरुष)तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन हुनुभएको छ ।

त्यस्तै खस/आर्य (महिला)तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा. डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहनुभएको छ ।

आदिवासी/जनजाति (पुरुष)तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी चयन हुनुभएको सचिव रिजालले राससलाई बताए ।

आदिवासी÷जनजाति (महिला)तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा छन् ।

मधेशी (पुरुष)मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला)तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन हुनुभएको छ ।

त्यस्तै दलित (पुरुष)तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन हुनुभएको छ भने दलित (महिला) तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् ।

थारू (पुरुष)तर्फ पद्मनारायण चौधरी तथा थारु ९महिला० तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी हुन् । त्यस्तै मुस्लिम (पुरुष)मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला) तर्फ सर्वतआरा खानम चयन भएका छन् ।

गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ कूल २३ स्थानमा विजयी काँग्रेसबाट कुनै पनि महिला निर्वाचित हुन सकेका थिएनन् ।

त्यस्तै माघ २४ गते सम्पन्न संघीय सदनको माथिल्लो सदन राष्ट्रियसभा सदस्य निर्वाचनमा कूल १३ स्थानमा विजयी भएको काँग्रेसका छ महिला विजयी भएका थिए ।

कानूनी प्रावधानअनुसार दुवै सदनमा प्रत्येक दलबाट कम्तीमा एक तिहाइ महिला सहभागिता सुनिश्चत गराउनुपर्ने प्रावधान छ ।

त्यसैले काँग्रेसले प्राप्त गरेको प्रतिनिधिसभाको समानुपातिक स्थानमध्ये २० महिलालाई पठाउने निर्णय गरेको पार्टी कार्यालयले जनाएको छ । पार्टीले आजै सो नामावली आयोगमा बुझाएको छ ।

आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिक रुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो ।

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले)ले ४१, नेपाली काँग्रेसले ४०, नेकपा (माओवादी केन्द्र)ले १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ/छ स्थान प्राप्त गरेका छन् । नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा (तीन जना राष्ट्रपतिबाट मनोनीतसमेत) गठन हुने प्रावधान छ । रासस


पुष्प दुलाल