अब एक बैंकले अर्को बैंकको ऋण किन्न पाउने



काठमाडौं । अब एक बैंकले अर्को बैंकको ऋण किन्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले पहिलोपटक बैंकले बैंकको ऋण किन्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले सोमबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै कृषि, उर्जा, पर्यटनलगायतका उत्पादनशील क्षेत्रमा गएको ऋण किन्न पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले गत साउनमा ल्याएको मौद्रिक नीतिमा बैंकहरुले आफूले प्रवाह गरेको कूल कर्जाको १० प्रतिशत कृषिमा, ५ प्रतिशत उर्जामा, ५ प्रतिशत पर्यटनमा र ५ प्रतिशत अन्य उत्पानदशील क्षेत्रमा गरी कूल २५ प्रतिशत ऋण तोकिएको क्षेत्रमा प्रवाह गर्नैपर्ने व्यवस्था गरेको थियो ।

तर, कतिपय बैंकहरुले राष्ट्र बैंकले गरेको यो व्यवस्था पूर्णरुपमा कार्यान्वयन गर्न सकेका थिएनन् ।

राष्ट्र बैंकले तोकिएको क्षेत्रमा आफैंले २५ प्रतिशत कर्जा प्रवाह गर्न नसकेका बैंकहरुलाई ऋण किन्न पाउने व्यवस्था मिलाइदिएको हो ।

यो व्यवस्थासँगै कुनै ए भन्ने बैंकले कृषिमा १५ प्रतिशत लगानी गरेको छ र कुनै बी भन्ने बैंकले ५ प्रतिशत मात्रै लगानी गरेको छ भने बी बैंकले ए बैंकसँग ५ प्रतिशत कृषि कर्जा किनेर भए पनि राष्ट्र बैंकले कृषिमा तोकेको १० प्रतिशत कर्जा पुर्याउनै पर्ने हुन्छ ।

त्यस्तै, उर्जा, पर्यटन र अन्य उत्पादनशील क्षेत्रको लगानी अर्को बैंकसँग किनेर भएपनि राष्ट्र बैंकले तोकेको सीमामा पुर्याउनै पर्ने व्यवस्था गरिएको हो ।


पुष्प दुलाल