तीन महिनाको नाफा २० अर्ब डलर पुग्दा सेयर मूल्य ३% ले बढ्यो



काठमाडौं । एप्पलले सन् २०१७ को अन्तिम त्रैमासिक अवधिमा गत वर्षभन्दा थोरै आईफोन बिक्री गरेको छ । तर, नाफा भने धेरै कमाएको छ । अन्तिम त्रैमासिकमा नाफा २० अर्ब डलरको कीर्तिमानी बिन्दुमा पुगेको छ ।

नाफा बढ्नुमा जापान र युरोपमा भएको वृद्धिको महत्वपूर्ण योगदान रहेको एप्पलले जानकारी दिएको छ ।

यो परिणाम एप्पलको महँगो आईफोन एक्सको बिक्रीका लागि पहिलो आधिकारिक झलक हो । फर्मका प्रमुख कार्यकारी टिम कुकले १ हजार डलरमा सुरु हुने यो उत्पादनको माग अपेक्षाभन्दा बढी भएको बताएका छन् ।

फर्ममा भएको त्रैमासिक बिक्री वार्षिक मापनका आधारमा १३ प्रतिशतले वृद्धि भई ८८.३ अर्ब डलरको कीर्तिमानी भएको छ । सुरुमा ओरालो लागे पनि केही घण्टाको कारोबारपछि एप्पलको सेयरमा ३ प्रतिशतको वृद्धि भएको छ ।

आईफोन उत्पादनको १० वर्ष पुगेको अवसरमा एप्पलले नोभेम्बरमा आईफोन एक्स सार्वजनिक गरेको थियो । वार्षिक मापनका आधारमा गत वर्षको अन्तिम त्रैमासिक अवधिमा एप्पलले गरेको आईफोनको बिक्रीमा १ प्रतिशतको गिरावट आएर ७ करोड ७३ लाख युनिट कायम भएको छ ।

बजारमा आएपछि आईफोन एक्स एप्पलको ह्यान्डसेटमा सर्वाधिक बिक्री हुने फोन भएको कुकले बताए ।

यद्यपि यो प्रविधि कम्पनीले आगामी महिनाहरुका लागि पनि अपेक्षा गरिएभन्दा कम फोन बिक्री हुने अपेक्षा गरेको छ । यसले एप्पलका उत्पादनको माग ओरालो लाग्ने लगानीकर्ताको चिन्तालाई थप बढाएको छ ।

तर पनि ह्यान्डसेटको बिक्री ओरालो लागेको विषयमा कुक चिन्तित देखिएका छैनन् । विश्वभर सक्रिय रहेको १.३ अर्बको फोनका कारण फर्मको सेवा व्यवसाय अझै बलियो रहेको उनले बताए । यसमा एप्पल पे पनि समावेश छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु