सामसंग ग्यालेक्सी एस नाइन सार्वजनिक हुँदै, यस्ता छन फीचर
काठमाडौं । सामसंगले आगामी फ्रेब्रुअरीमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले फेब्रुअरी २५ तारिखमा मोबाइल वल्र्ड कंग्रेसको अवसर पारेर बार्सिलोनामा अनप्याक्ड इभेन्ट आयोजना गर्ने भएको छ ।
यसअघि निकै चर्चा हुँदै आएको ग्यालेक्सी एस नाइन स्मार्टफोन सोहि अवसरमा सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ ।
सामसंगले एउटा टिजर सार्वजनिक गर्दै नयाँ फोनमा रिइम्याजिण्ड क्यामरा विशेषतासहित सार्वजनिक हुने जानकारी दिएको हो । कम्पनीले यो फोनमा कुनै यस्तो नयाँ प्रविधि उपलब्ध गराउने तयारीमा छ जसले ट्रेन्ड सेटरको रुपमा आउनसक्नेछ ।
विभिन्न रिपोर्टहरुका अनुसार यो क्यामरामा आइएसअोसेक सेन्सर्स राखिने छ । क्यामराका लागि प्रयोग हुने यो प्रविधि कम प्रकाशमा पनि आकर्षक र स्पष्ट तस्विरहरु खिच्न सक्ने क्षमता राख्दछ ।
सामसंगको ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस स्माार्टफोनमा ड्यूल रियर क्यामरा हुने अनुमान गरिएको छ भने यसमा स्लो मोसन भिडियो खिच्न सकिने प्रविधि हुने अनुमान छ । यसका साथै यो क्यामराले ४८० फ्रेम प्रति सेकेण्डको दरमा फुल एचडी भिडियो पनि रेकर्ड गर्न सक्नेछ ।
यसअघि नै ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस स्माार्टफोनमा १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा हुने जानकारी बाहिर आएको थियो । त्यसका साथै ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।
सामसंग ग्यालेक्सी एस नाइन स्माार्टफोनमा ५.८ इन्चको क्वाडएचडी सुपर एमोलेड डिस्प्ले हुनेछभने यसमा एस ८ को जस्तै एज डिस्प्ले हुने अनुमान छ ।
फोनमा क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट राखिने छ भने फोनमा ४ वा ६ जीबीको र्यामसहितको दुई भेरिएन्टका फोनहरु आउन सक्ने अनुमान छ ।
सामसंग ग्यालेक्सी एस नाइनको मूल्य
कम्पनीले एस नाइनको मूल्य ९,५०,००० कोरियाली वन अर्थात करिब ९० हजार नेपाली रुपैयाँ तोक्नेछ भने साथमा एस नाइन ड्यूओ पनि बजारमा आउने छ ।
दक्षिण कोरियाबाट आएको रिपोर्टअनुसार सामसंग ग्यालेक्सी एस नाइन प्लसको मूल्य भने ९,९०,००० कोरियाली वन अर्थात करिब ९४ हजार नेपाली रुपैयाँ हुनसक्नेछ ।