विश्वव्यवापी रुपमा प्रत्यक्ष बैदेशिक लगानी घट्यो, भारत पाचौं आकर्षक लगानी गन्तव्य



विश्वव्यापी रुपमा प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको तुलनामा १६ प्रतिशतले घटेको छ । २०१६ मा १.८१ ट्रिलियन डलरको एफडीआई विश्वभर प्रवाह भएकोमा २०१७ मा १.५२ ट्रिलियन डलर मात्रै कायम भएको व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसंघीय सम्मेलन (अंकटाड) ले जनाएको छ ।

अन्य सकारात्मक आर्थिक सूचकका बाबजुद एफडीआईमा भएको प्रवाह ओरालो लाग्नु आश्चर्यजनक भएको अंकटाडले सार्वजनिक गरेको ग्लोबल इन्भेस्टमेन्ट ट्रेन्ड्स मनिटरले जनाएको छ ।

‘एफडीआईको सुधार लगातार नराम्रो भएको छ,’ अंकटाडका महासचिव मुखिसा किट्यूले भने । यद्यपि विकासशील मुलुकमा भएको एफडीआई प्रवाह भने अघिल्लो वर्षको समान रहेको छ ।

विकसित मुलुकमा एफडीआईको प्रवाहमा २७ प्रतिशतको गिरावट आएको छ । अमेरिकामा घटेको ३२ प्रतिशत र बेलायतमा घटेको ९० प्रतिशत विकसित मुलुकमा एफडीआई ओरालो लाग्नु प्रमुख कारण भएको छ ।

यद्यपि अस्ट्रेलियामा भएको ११ प्रतिशतको वृद्धिले यसमा केही पूर्ति गरेको छ ।

एसियामा सर्वाधिक बढी एफडीआईको प्रवाह भएको अंकटाडका लगानी विभागका निर्देशक जेम्स झानले बताए । चीनमा कीर्तिमानी तहमा एफडीआई प्रवाह भएको छ ।

विकासशील मुलुकमा भने एफडीआई स्थिर रहेको छ । यी मुलुकमा अनुमानित ६५३ अर्ब डलरको एफडीआई प्रवाह भएको छ । यो अघिल्लो वर्षको तुलनामा २ प्रतिशत बढी हो ।

विशेष गरी विकासशील एसिया, ल्याटिन अमेरिका र क्यारेबियन क्षेत्रमा लगानी प्रवाह उत्साहजनक भएको छ । विकासशील एसिया विश्वमै सर्वाधिक एफडीआई भित्र्याउने क्षेत्र भएको छ । दोस्रोमा युरोपेली संघ र तेस्रोमा उत्तर अमेरिकी क्षेत्र परेका छन् ।

विश्वको संक्रमणको अवस्थामा रहेको अर्थतन्त्रमा एफडीआईमा १७ प्रतिशतको गिरावट आएर अनुमानित ५५ अर्ब डलर कायम भएको छ ।

भारत पाचौं आकर्षक लगानी गन्तव्य

विश्वव्यापी सिइओमाझ गरिएको सर्भेमा जापानलाई उछिन्दै भारत पाचौं आकर्षक लगानी गन्तव्य रुपमा दरिएको छ । यो वर्ष भारत विश्वकै तीव्र आर्थिक वृद्धिको मुलुकका रुपमा स्थापित हुने पनि अन्तर्राष्ष्ट्रिय मुद्रा कोषले जनाएको छ ।

परामर्शदातृ फर्म प्राइसवाटर हाउस कुपर्सले सञ्चालन गरेको सर्भेमा प्रमुख कार्यकारीले आफ्नो घरेलु बजारबाहेक लगानीकर्ताले पहिलो नम्बरमा अमेरिकामा लगानी गर्ने इच्छा व्यक्त गरेको बताएका छन् । यसपछिको स्थानमा चीन रहेको छ ।


पुष्प दुलाल