संचार र दूरसंचार क्षेत्रका नयाँ ऐन नियम बनाउँदै मन्त्रालय




काठमाडौं । सूचना तथा संचार मन्त्रालयले संचार तथा दूर संचारसँग सम्बन्धित विभिन्न ऐन नियमहरु प्रतिस्थापन गर्दै नयाँ बनाउने प्रकृया शुरु गरेको छ । मन्त्रालयले संचार तथा दूरसंचारको क्षेत्रका अधिकांश नियम कानूनहरु पुराना भएको भन्दै नयाँ बनाउने प्रकृया शुरु गरेको हो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विभिन्न नियम कानूनहरु प्रतिस्थापन गर्न लागिएको जानकारी दिए । उनले हाल विज्ञापन ऐन, फ्रिक्वेन्सी ऐन, दूरसंचार ऐनलगायतका ऐनहरु बनाउन शुरु गरिएको बताए ।

‘अहिले भएका नियम कानूनहरु पुराना भएको महसुस गरेर नै नयाँ बनाउन लागको हौं, लगभग पुराना सबै ऐन परिवर्तन गर्नुपर्ने देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने ।

मन्त्रालयले अहिले विज्ञापन क्षेत्रलाई नियमन गर्नको लागि भनेर नै छुट्टै विज्ञापन ऐन निर्माण गर्नको लाग समिति गठन गरिसकेको छ भने सहमति लिने प्रकृयामा रहेको छ ।

त्यसैगरी करिब दुई दशक पुरानो दुरसंचार ऐनलाई पनि परिवर्तन गर्ने प्रकृयामा रहेको छ । दूरसंचार ऐनको मस्यौदा निर्माणको क्रममा रहेको र सो ऐन छिटै आउने सचिव अधिकारीले जानकारी दिए ।

मन्त्रालयले हुलाक ऐन, रेडियो ऐन, राष्ट्रिय प्रशारण ऐनलगायत दर्जनभन्दा बढि नियम कानूनहरु नयाँ बनाउने तयारी गरिरहेको छ ।


क्लिकमान्डु