भैरहवा एयरपोर्ट निर्माणको समय थप्न कम्पनी दौडधुपमा, २ सय ५० चिनियाँ कामदार ल्याईदै



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको भैरहवामा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तोकिएको समयमा नहुने निश्चत भएको छ ।

आयोजना पक्ष र निर्माण कम्पनीबीच सम्झौता भएअनुसार २०७४ पुस मसान्तभित्रै निर्माण सम्पन्न भएर सरकारलाई हस्तान्तरण भइसक्नुपर्ने थियो ।

तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको विमानस्थल निर्माणको कामको प्रगति ३३ प्रतिशत मात्रै सम्पन्न भएको छ ।

ठेकदार कम्पनी कम्पनी नर्थ वेस्टले भने जुन महिना भित्र धावनमार्गको बेस निर्माण सम्पन्नगरी कालोपत्रे गर्ने दावी गरेको छ । कालोपत्रे सकेपनि अन्य विमानस्थल निर्माणको काम ५० प्रतिशत बाँकी नै रहने छ ।

विमानस्थल निर्माणको कार्यसुरु भएसंगै २०७२ बैशाखमा आएको भूकम्पका कारण निर्माणको समयमा ६ महिना थपगर्दै सरकारले सन् २०१८ को जुनसम्म पुर्याएको छ । उक्त सम्झौता अनुसार आगामी असार महिनासम्म निर्माण सम्पन्न भइसक्नु पर्ने हो ।

तर, निर्माण सम्पन्न नहुने निश्चित भएपछि ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनले १ वर्ष समय थप्नको लागि लविङ थालेको छ । विगतमा स्थानीय ठेकदारसँग तालमेल नमिलेपछि चिनियाँ कम्पनीले झन्डै ३ महिना काम रोकेको थियो ।

अहिलेको निर्माण गति हेर्दा उक्त अवधि भित्र विमानस्थल निर्माण कार्य सम्पन्न हुने आधारहरु केही पनि देखिएको छैन । तर ठेकदार कम्पनी कम्पनी नर्थ वेस्टले भने जुन महिना भित्र धावनमार्गको बेस निर्माण सम्पन्नगरी कालोपत्रे गर्ने दावी गरेको छ । कालोपत्रे सकेपनि अन्य विमानस्थल निर्माणको काम ५० प्रतिशत बाँकी नै रहने छ ।

गौतमबुद्ध विमानस्थल निर्माण आयोजनाका प्रमुख ओम शर्माका अनुसार थपिएको समय जुन २०१८ भित्र विमानस्थल निर्माणको सबै काम नसकिए पनि मुख्य कामका रुपमा रहेको टर्मिनल बिल्डिङको छत ढलान र धावनमार्ग पिचको काम सम्पन्न हुने दावी गर्छन् ।

नर्थ वेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय २७ रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । शर्माका अनुसार अव एक वर्ष भित्र निर्माणको काम ८० प्रतिशत सकिने दावी गरेका छन् । तर निर्माणको लागि सन् २०१८ को जुनसम्म मात्र समयसिमा रहेको छ ।

३३ प्रतिशत मात्र काम सम्पन्न
भैरहवा विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले पछिल्लो समय काममा भने तीब्रता बनाएको छ । चीनबाट थप कामदार ल्याउनुका साथै आवश्यक मेसिन आयातको लागि प्रक्रिया अघि बढाइसकेको छ ।

अहिले भैरहवा विमानस्थलमा २ सय जनाको हाराहारीमा नेपाली कामदार छन् । यो कामदार अपुग भएको भन्दै कम्पनीले चीनबाट थप २ सय ५० जना दक्ष कामदार ल्याउन लागेको भैरहवा आयोजना प्रमुख शर्माले जानकारी दिए । यसको लागि कम्पनीले श्रम स्वीकृतिको प्रक्रिया अघि बढाएको उनले बताए ।

काममा तिब्रता दिएसँगै भैरहवा विमानस्थल आयोजनाले चिनीयाँ कम्पनीसँग ठेक्का नतोड्ने निश्कर्ष निकालेको थियो । यसअघि आयोजनाले काम अघि नबढाएपछि चिनीयाँ कम्पनीलाई ठेक्का तोड्ने चेतावनी सरकारले दिएको थियो ।

ठेक्का तोड्ने चेतावनी दिएसँगै कम्पनीले व्यवस्थापन टिम नै परिवर्तन गरेको थियो । आयोजना प्रमुख शर्माले भने ‘यसअघिको व्यवस्थापन टिमले काममा ध्यान दिदैनथ्यो, काम नगरी काठमाडौंमा बढी समय बिताएको थियो, तर अहिलेको टिम हरेक समय आयोजना स्थलमै बस्ने गरेको छ ।’

यसअघिको टिमले आयोजना स्थलमा ६० जना मात्रै कामदार खटाएको थियो । कामदारहरुको सख्ंया अत्यन्त न्युन भएका कारण आयोजनाको काम अघि बढ्नै सकेको थिएन । सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी विमानस्थलको काम सुरु भएको थियो ।


क्लिकमान्डु