अब अनलाईनमा आधारित आईएमईआई दर्ता प्रकृया, दर्ता नभएका मोबाइल ब्लक हुने



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइलको यूनिक कोड नम्बरलाई अनिवार्य बनाउने भएको छ । प्राधिकरणले अनलाइनमा आधारित आईएमईआई नम्बर दर्ता प्रकृया शुरुगरेसँगै आईएमईआई दर्ता नभएका कुनैपनि मोबाइल ह्याण्डसेट प्रयोग गर्न नसकिने बनाउन लागेको हो ।

वेबमा आधारित मोबाइलको आईएमईआई दर्ता प्रकृयाको बारेमा जानकारी दिन सोमबार आयोजित कार्यशालामा प्राधिकरणका अध्यक्ष दिगम्बर झाले चालु आर्थिक वर्षमा आईएमईआई दर्ता प्रकृयालाई अनलाईनमा राख्ने गरि काम गरिएको र आधिकारिकरुपमा मात्र मोबाईल आयातलाई प्रोत्साहन गरिने बताए ।

‘अझैपनि बजारमा ग्रे च्यानलबाट मोबाइल आईरहेको छ,जसले राजस्व चुहावट भईरहेको छ भने अर्कोतर्फ उपभोक्ताहरुको स्वास्थ्यमा खतरा देखिएको छ, ’ उनले भने ।

अध्यक्ष झाले आगामी आवमा तेस्रो पक्षिय विज्ञको सहयोगमा सिम नै ब्लक गर्ने गरि ‘नो योर कस्टमर’ लागू गर्ने तयारी गरिएको जानकारी दिए ।

मोबाइल फोन इम्पोटर्स एसोशिएसनका अध्यक्ष दिपक मल्होत्राले आईएमईआई दर्तालाई अनिवार्य गरेर ह्वाईट लिस्ट लागु गर्न माग गरे ।

‘अहिले हामीलाई सरकारले मोबाइल आयातमा ४० प्रतिशत भ्याट फिर्ता दिईरहेको छ, ह्वाईट लिस्ट लागु भएमा भ्याट फिर्ता गरेहुन्छ,’ मल्होत्राले भने ।

कार्यक्रममा प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले आईएमईआई दर्ताको कानुनी अवधारणा र अन्तराष्ट्रिय अभ्यासको बारेमा जानकारी दिँदै प्राधिकरणले ब्याट्री परिक्षण ल्याब निर्माण गर्न लागेको जानकारी दिए ।

प्राधिकरणले एक साता भित्र सम्पूर्ण प्रकृया सकेर अनलाईन आईएमईआई दर्ता प्रणाली शुरु हुने जानकारी दिएको छ । सो प्रणाली लागु भएपछि ग्राहकहरुले कार्यालय वा घरमा नै बसेर आफ्नो मोबाइल फोनको आईएमईआई दर्ता गर्न सक्नेछन् ।

प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालकाअनुसार हालसम्म १ करोड ७७ लाख भन्दा बढि आईएमईआई दर्ता भईसकेको भने ५००० भन्दा बढि मोडलको टाइप अप्रुभल प्रदान गरिएको छ ।


क्लिकमान्डु