सिरोहियाविरुद्ध सुमार्गीको काउन्टर, सिरोहियाले सोल्टीमा खाएको रक्सीको पैसा तिरेँ



काठमाडौं । नयाँ बानेश्वरको संविधानसभा भवन अगाडि १२ तले भवन छ । जुन कर्पोरेट बिल्डिङको नाम मुक्तिश्री टावर हो ।

१२ तले भवन भएपनि यसको केही तला बाहेक अरु खाली नै छन् । सोमबार माघे सक्रान्तीको दिन नयाँ बानेश्वरको मुक्तिश्री टावरको छैटौ तलामा २ बजेदेखि पत्रकारहरुको भिड छ ।

वास्तविक पत्रकारदेखि विभिन्न पेशा व्यवसायमा आधारित रहेका पत्रकारहरु व्यवसायी अजेयराज सुमार्गीले गर्न लागेको पत्रकार सम्मेलनमा आएका थिए ।

सामान्य पत्रकार सम्मेलनभन्दा यो सम्मेलन केही अर्थमा फरकपनि थियो । सुमार्गीको लगानीको विषयमा देशको ठूलो संचारमाध्यम कान्तिपुरले समाचार प्रकाशित गर्दै आएको छ । पछिल्लो एक दशकमा ठूला लगानीकर्ताको रुपमा उदायका सुमार्गी विवादस्पद व्यवसायी हुन् । यद्यपी उनको लगानीको अवैध भन्ने पुष्टी सरकारी निकायले गरेको छैन ।

पत्रकार सम्मेलन सुरु गर्नुभन्दा अगाडि कार्यक्रम संचालकले ४ वर्ष अगाडि गरिएको पत्रकार सम्मेलन र त्यो पत्रकार सम्मेलनपछि छापिएका समाचारको स्लाइड सो गरे ।

४ वर्ष अगाडि सुमार्गीले विभिन्न ५ तारे होटलदेखि सिमेन्ट उद्योग,टेलिकम कम्पनी हेलो नेपालमा लगानी गर्ने घोषणा गरेका थिए । उनले विदेशबाट भित्राएको ३ अर्ब रुपैयाँ स्रोत नुखुलेको भन्दै रोकिएको छ ।

कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गर्न बोलाइएको पत्रकार सम्मेलनमा ४ वर्ष अगाडि गरिएको लगानी घोषणाको समाचारको कटिङपछि सुमार्गीले प्रेस विज्ञप्ती पढ्न थाले ।

सुमार्गीले प्रेस विज्ञप्ती पढ्दै सोल्टी होटलमा कैलाशसँग भएको एउटा भेट सुनाउदै भने,‘ कैलाशले मलाई २ करोडमा हाइज्याक गरे भनेर तानेर लगे, त्यो बेलाको साक्षी नेपाल प्रहरीका पूर्व प्रमुख उपेन्द्रकान्त अर्यालपनि छन् त्यतीबेला उनी प्रहरी प्रमुख भएका थिएनन्।’

उनले थप्दै भने,‘कैलाश रक्सीले मातेका थिए,मैले कैलाशले खाएको रक्सीको बिलपनि तिरे, मलाई उनले २ करोडको कुरा गरेको बार्गेनिङ गर्न भनेको भन्ने अहिले आएर लागेको छ।’

सुमार्गीले कान्तिपुरमा समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालयमा कैलाश र आफुबीच २०७० सालमा जग्गाको कारोबार भएको र आफ्नो सुरक्षा गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिइसकेका छन् । कान्तिपुरमा प्रकाशित समाचार विरुद्ध जिल्ला अदालत काठमाडौंमा गाली बेइजतीको मुद्दा पनि दायर छ ।

सुमार्गीले पत्रकार सम्मेलनमा जिल्ला प्रशासन कार्यालयमा बुझाएको निवेदन अनुसार नै जग्गा खरिद गरेको र पछि आफ्नो आर्थिक अवस्था सुधार भएपछि पुरानो मुल्यमा जग्गा फिर्ता मागेर आफुले नदिएपछि कान्तिपुर समुहका प्रकाशन र प्रसारण संस्थाबाट समाचार आएको बताए ।

कैलाश सिरोहियाले ब्लाकमेलिङ गर्दै र हरेक परियोजनामा ‘गोल्डन सेयर’ माग गर्ने गर्छन् ।

‘कैलाशले अनुनय विनय गरेपछि मैले जग्गा खरिद गरेको हो,त्यो जग्गा खरिद नगरेको भए उनी बैंकको ऋण चुक्ता नगरेर जेल जानुपर्ने थियो र पार्टनरको पनि पैसा दिन नसक्ने अवस्थामा थिए’,उनले जारी गरेको विज्ञप्ती पढ्दै सुनाए ।

कान्तिपुर समुहले सबैभन्दा पहिला २०७१ सालको नेपाल साप्ताहिकमा सुमार्गीको धनको विषयमा समाचार प्रकाशित गरेको थियो । त्यसपछि निरन्तर समाचार प्रकाशित भए ।

यो पटक भने एशिया न्यूज नेटवर्कमा समाचार प्रकाशित भएपछि सुमार्गी सबैभन्दा बढी असहज भएको अनुमान प्रेस विज्ञप्तीमा हेर्दा देखिन्थ्यो । एशिया न्यूज नेटवर्कको सदस्य कान्तिपुर समुहले प्रकाशन गर्ने काठमाण्डू पोस्ट रहेको छ ।

सुमार्गीले पत्रकार सम्मेलनमा कैलाश सिरोहियालाई पटक पटक ब्लाकमेलिङ गरेको र हरेक परियोजनामा सिरोहियले ‘गोल्डन सेयर’ माग गर्ने आरोप लगाए । मिडिया सोसाइटी कैलाशको प्रभावमा परेर आफु विरुद्ध विज्ञप्ती जारी गरेको बताए ।

सुमार्गीले प्रेस विज्ञप्ती वाचन गरेपछि पत्रकारले विभिन्न खालका प्रश्न गरे । उनले किन विदेशबाट ऋण पाए देखि लिएर प्रचण्डसँगको सम्बन्ध र कैलाश सिरोहियासँगको विवादको विषयमा पत्रकारले प्रश्न गरे ।

पत्रकारको प्रश्न सुनेपछि सुमार्गीले आफुले पत्रकारबाट यस्ता प्रश्नको आशा नगरेको भन्दै लगानी भित्राउन पर्ने समस्या र नेपाललाई चाहिने लगानीको विषयमा आफुले पत्रकारबाट प्रश्न आउने आशा गरेको भन्दै आफुलाई रुन मन लागेको बताए ।

‘नेपालका बैंकहरुले ठूलो ऋण दिन नसक्ने भएपछि विदेशबाट ऋण ल्याएको हो,’ सुमार्गीले भने । यद्यपी उनले कुन कम्पनीबाट ऋण लिएको त्यो भने खुलाएनन् । प्रचण्डसँगको सम्बन्धको विषयमा भने उनलाई फुर्सद नभएको जवाफ दिए ।

जवाफ दिदै गर्दा उत्तेजित रुपमा सिरोहियालाई कुत्ता समेत सुमार्गीले भन्ने भ्याए । पत्रकार सम्मेलनमा उनले धेरै पटक कान्तिपुरको आडनमा सिरोहियाले ब्याकमेलिङ गरेको बताए ।


क्लिकमान्डु