अब नारायणीको पुलमा राती आकर्षक बत्ती बल्ने, विहान बेलुका भजन बज्ने




काठमाडौँ । सरकारले चितवन र नवलपरासीको गैँडाकोट जोड्ने नारायणी नदीमा नेपालकै पहिलो ‘सिग्नेचर ब्रिज’ बनाउने भएको छ ।

प्रविधिको हिसाबले यो पुल नेपालकै लागि नयाँ प्रयोग हुने सरकारी भनाइ छ ।

नदीकोबीचमा कुनै पनि खम्बा नराखिकन निर्माण गर्ने पुललाई प्रविधिको अनुपम प्रयोगका रुपमा प्रस्तुत गर्न खोजिएको सडक विभाग मातहतको पुल महाशाखाले जानकारी दिएको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर आकर्षक एवम् कलात्मक पुल बनाइनेछ ।

डबल लेन, प्रतिमिटर २० लाख खर्च
सो पुल डबल लेनमा निर्माण गरिनेछ । उक्त पुल ५०० मिटर लामो हुनेछ । प्रतिमिटर २० लाख लागतमा १ अर्ब रूपैयाँमा उक्त पुल निर्माणमा खर्च लाग्ने अनुमान गरिएको छ । नारायणी नदीमा निर्माण गरिने उक्त पुल पर्यटकीय रुपमा समेत आकर्षक बन्नेछ ।

पुलमा रातको समयमा आकर्षक बत्तीले सजाइनेछ । साँझ वा बिहानको समयमा विभिन्न धार्मिक भजनसमेत पुलमा सुन्न पाइनेछ । देवघाट हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल भएकाले पनि पुललाई पर्यटकमैत्री बनाउन लागिएको हो ।

रातको समयमा विभिन्न आर्कषक बत्ती समेत पुलमा बालिनेछ । पूललाई पर्यटकीय गन्तव्य बनाउन खोजिएको छ । पूलको दाँया बायाँ मनोरञ्जक रेस्टुरेन्ट समेत स्थापना गरिनेछ ।

पुल मानव सभ्यतासँग जोडिएकाले पनि आकर्षक बनाउन खोजिएको हो । पर्यटन प्रवद्र्धन, आर्थिक समृद्धिसँग पुल जोडिएकले पनि पर्यटनसँग जोड्न लागिएको विभागको भनाइ छ ।

नेपालको पर्यटन प्रवद्र्धनमा कर्णाली पुलले महत्वपूर्ण योगदान गरे जस्तै चितवन नवलपरासी जोड्ने पुललाई पनि त्यस्तै खालको चित्ताकर्षक बनाइनेछ ।

चिनियाँ प्राविधिकको सहयोगमा उक्त पुल निर्माण गरिनेछ । विभागले वातावरणीय प्रभाव मूल्याङ्कनको तयारी गरेको सिनियर डिभिजनल इन्जिनियर नरेशमान शाक्यले जानकारी दिए ।

शाक्यका अनुसार हालसम्मकै नयाँ प्रविधिको प्रयोग गरेर पुलको डिजाइन गरिने र नेपाली प्राविधिकलाई सक्षम र सबल बनाउने लक्ष्य राखिएको छ ।

विभागले चिनियाँ उच्च प्राविधिकलाई निम्त्याएर सीपसमेत सिक्ने र नेपाली प्राविधिकलाई सक्षम बनाउने लक्ष्यसमेत राखिएको सिडिइ शाक्यले बताए ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले पनि सो पुल निर्माणका सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । हाल सञ्चालनमा रहेको चितवन–नवलपरासी जोड्ने पुल ४६० मिटर लामो रहेको छ ।

मादी र सेती नदीमाथि पनि त्यस्तै सिग्नेचर ब्रिज निर्माण गरिने भएको छ । त्यसको समेत डिजाइन भइसकेको सिडिइ शाक्यले जानकारी दिए ।

यसअघि नै बनाइएको कर्णाली पुल नेपालको लामो पुलमध्ये एक हो । सो पुलको निर्माण सन् १९९३ मा भएको हो । सो पुलमा दैनिक २ हजार ५०० आन्तरिक तथा विदेशी पर्यटकले अवलोकन गर्ने गरेका छन् ।

विशेषगरी भारतीय पर्यटक सो पुल हेर्न आउने गरेका छन् । कर्णाली पुलबाट दैनिक एक हजार ५०० देखि दुई हजार सवारी साधन सञ्चालनमा रहेका छन् ।

के हो सिग्नेचर ब्रिज ?
प्राविधिक रुपमा सिग्नेचर ब्रिज भनेको नदीको बीचमा कुनै पनि खम्बा नराखी पुल निर्माण गरिने प्रविधि हो । त्यसलाई केवल कनेक्टेड प्रविधि पनि भनिन्छ । विशेष गरी अमेरिकी वैज्ञानिकले तयार पारेको उक्त प्रविधि हाल संसारभर प्रख्यात छ । जलचरको संरक्षण तथा पानीको प्रवाहले कुनै पनि अवरोध नगर्ने भएकाले यस्तो प्रविधिलाई संसारभर अपनाउन थालिएको छ ।


क्लिकमान्डु