कालीगण्डकीमा पक्की पुल निर्माण तिब्र



पाल्पा । कालीगण्डकीमा निर्माणाधीन पक्की पुल निर्माण अहिले धमाधम अगाडि बढिरहेको छ ।

पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण कार्य अगाडि बढेपछि यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन् ।

जेभी काठमाडौँको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले २०७२ फागुन १६ गते शिलान्यास गरेर तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया धमाधम अगाडि बढाएको हो ।

एकसय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको रु १५ करोड ११ लाखको लागतमा निर्माण कार्य भइरहेको छ । अहिलेसम्म ७० प्रतिशत जति निर्माण कार्य सम्पन्न भइसकेको ठेकेदार एवं चापाकोट नगरपालिका–७ का वडाध्यक्ष एकदेव भट्टराई बताउँछन् ।

यो पुल यस क्षेत्रकै नमूनाका रुपमा तीव्रगतिमा निर्माण अगाडि बढेको पुल निर्माण समितिका उपाध्यक्ष एवं रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए। आगामी असार मसान्तसम्ममा पुल निर्माणको काम सकिने उनले बताए ।

पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर, स्याङ्जाको चापाकोटलगायतका स्थानियवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । यही पुलबाट नदी वारिपारि यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयलाई धेरै फाइदा पुग्नेछ ।


क्लिकमान्डु