राजनीतिक गुरुसँग एकाबिहानै के कुरा गरे प्रचण्डले ?




काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहबीच बिहिबार बिहानै प्रचण्ड निवास खुमलटारमा भेट भएको छ ।

प्रचण्डलाई भेट्न उनकै निवास पहिलो पटक पुगेका सिंह र प्रचण्डबीच वाम गठबन्धनको विस्तार, राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ ।

महामन्त्री सिंह अध्यक्ष दाहालका राजनीतिक गुरु एवम् नेपालको कम्युनिस्ट आन्दोलनका सम्मानित व्यक्तित्वका रुपमा चिनिन्छन् ।

भेटका क्रममा दुई नेताबीच वाम गठबन्धनलाई कायम राखेर त्यसलाई अझ विस्तार गरेर अगाडि बढ्नेबारे कुराकानी भएको अध्यक्ष दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सनाले जानकारी दिए ।

भेटमा नेता सिंहले बामपन्थीहरु मिलेर अघि बढ्दा मात्रै मुलूकमा राजनीतिक स्थिरता र विकास सुनिश्चित हुने कुरामा जोड दिए ।

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बामपन्थीहरु मिल्दा राम्रो नतिजा आएको र देशमा सकारात्मक सन्देश गएको बताउँदै राष्ट्रियसभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसालबीचको चुनावी तालमेललाई कायमै राखिने बताएका थिए ।

भेटमा दुवै नेताहरु राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेद्वार खडा गर्दै बामपन्थी एकता र तालमेललाई बलियो बनाएर अगाडि बढ्न सहमत भएका छन् ।

उनीहरुबीच नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउने र जनताको अपेक्षालाई सम्बोधन गर्ने विषयमा साझा कार्यक्रम बनाउने विषयमा समेत छलफल भएको थियो ।


क्लिकमान्डु