एटिएम कार्ड परिवर्तन गर्नुभयो ? अब पुरानो कार्ड चल्दैन




काठमाडौैं । तपाईले पैसा निकाल्न प्रयोग गरिरहनु भएको एटिएम कार्ड परिवर्तन गर्नुभयो ? छैन भने तपाईले प्रयोग गर्नुभएको एटिएम कार्ड परिवर्तन गरेर चिपबेस्ड कार्ड लिनुहोस् ।

नेपाल राष्ट्र बैंकले पुस मसान्तपछि पुरानो (म्याग स्ट्राइप) कार्ड चलाउन नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकले पुरानो कार्ड प्रणाली परिवर्तन गरेर चिपबेस्डमा जान निर्देशन दिइसकेको छ । एटिएम सुरक्षाको लागि चिपबेस्ड कार्ड अनिवार्य गरिएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले २०१७ भित्रमा बैंक तथा वित्तीय संस्थाले पुरानो प्रणालीको कार्ड परिवर्तन गरेर चिपबेस्डमा जाने जानकारी दिएको बताए ।

किन गरियो यस्तो परिवर्तन ?
इन्टरनेसनल पेमेन्ट एसोसिएसनले सन् २०१७ पछि पुरानो प्रबिधिका कार्ड हटाएर चिपबेस्ड कार्ड प्रयोग गर्न सबै सेवा प्रदायकहरुलाई आव्हान गरेको थियो । पुरानो प्रविधिको म्याग स्ट्रइप कार्डमा सुरक्षा प्रणाली कमजोर भएको र त्यसको कारण उत्पन्न हुने जोखिमले भुक्तानी दिने बैंक तथा वित्तीय संस्थालाई हानी नोक्सानी पर्ने भन्दै यस्तो ब्यवस्था गरिएको थियो ।

एसोसिएसनको आग्रहमा संसारका धेरै केन्द्रीय बैंकहरुले आआफ्ना देशका बैंक तथा वित्तीय संस्थाहरुलाई चिपबेस्ड कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएका थिए ।

कुन कुन कार्ड चल्छन् नेपालमा ?
अहिले नेपालमा भिजा कार्ड, मास्टर कार्ड र चाइना युनियन पे (सियुपी) कार्ड गरी ३ वटा कार्ड प्रयोगमा आउने गरेका छन् । यसमध्ये सियुपी कार्ड चीन र चीनको प्रभाव रहेका देशहरुका नागरिकले प्रयोग गर्ने गरेका छन् । नेपालमा सियुपी कार्ड लिनेको संख्या नगन्य भएपनि त्यस्ता देशहरुबाट आउनेहरुले नेपालमा प्रयोग गर्ने गरेका छन् ।

यी तीनवटै कार्ड सेवा प्रदायकले सन् २०१७ को सेप्टेम्बर महिनासम्ममा सबै कार्ड चिपबेस्ड बनाइसक्नु पर्ने म्याद तोकेका थिए । तर, तोकिएको समयमा पुराना सबै कार्ड विस्थापित गरी नयाँ कार्ड प्रयोगमा ल्याउन समय नपुगेको नेपाली बैंकहरुले सम्बन्धित कार्ड सेवा प्रदायकलाई जानकारी गराएका थिए ।

अहिले संचालनमा रहेका एटिएम कार्ड र एटिएम मेसिन स्तरोन्नति वा प्रतिस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने देखिन्छ । तर, यसमध्ये कार्डमा गरिएको १ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ भने बैंकका ग्राहको थाप्लोमा आइपर्नेछ ।

बैंकहरुको तर्फबाट यस्तो आग्रह आएपछि मास्टर कार्डले केही समय दिन्छु भनेको र भिजा कार्डले कुनै प्रतिक्रिया नदिएको एक बाणिज्य बैंकका कार्ड विभागका प्रमुखले जानकारी दिए ।

के गर्दैछ एससीटी ?
केही नेपाली बैंक तथा वित्तीय संस्थाहरुले स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) को डेविट कार्ड प्रयोग गर्ने गरेका छन् । यस्तो कार्ड नेपाल र भारतमा मात्रै चल्छ । एक जमानामा एटिएम कार्ड भन्ने वित्तिकै एससीटीका कार्ड भन्ने बुझिन्थ्यो ।

अहिले एससीटीका १० वटा बाणिज्य बैंक, १४ वटा विकास बैंक, १० वटा फाइनान्स कम्पनी र ४ वटा सहकारी संस्था ग्राहक छन् ।

एससीटीले आफ्नो कार्ड स्तरोन्नति गरिसकेको छ । उसले आफ्नो पुरानो प्रविधिको म्याग स्ट्राइप कार्डलाई चिपबेस्ड कार्डमा स्तरोन्नति गरेको एससीटीका चिफ बिजेनस अफिसर प्रणब राजभण्डारीले जानकारी दिए ।

एससीटीले युनियन पे इन्टरनेसनलसँगको सहकार्यमा एससीटी युपीआई कोब्रान्डेड कार्ड दिइरहेको छ । युपीआई चाइना युनियन पेका सदस्यहरुको संगठन हो । एससीटीले युपीआईसँगको सहकार्यमा चिपबेस्ड कार्ड दिन लागेको कारण नेपालमा पनि सीयुपी कार्डको प्रचलन बढ्ने देखिएको छ ।

कति कार्ड छन् नेपालमा ?
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले ५५ लाख ८३ हजार वटा डेबिट कार्ड जारी गरेका छन् । यस्तै ७५ हजार वटा क्रेडिट कार्ड जारी भएको छ ।

कति पर्छ लागत ?
पुरानो प्रविधिको कार्ड हटाएर नयाँ कार्ड प्रचलनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुले ठूलै लगानी थप गर्नुपर्ने देखिएको छ । नेपाली बैंकहरुले पहिला संचालन गरेको कार्ड मात्र नभइ एटिएम मेसिन पनि पुरानो प्रविधिको भएकोले केही मेसिन नै परिवर्तन गर्नुपर्ने र केहीमा प्रविधि स्तरोन्नति गर्नुपर्ने भएकोले लागत धेरै पर्ने देखिएको हो ।

बैंकहरुका अनुसार यस्ता कार्डमध्ये क्रेडिट कार्डको मूल्य बढी पर्छ । नेपालमा क्रेडिट कार्डको प्रयोगकर्ता कम भएको कारण यस्तो कार्डको मूल्य बढी पर्ने गरेको हो ।

बैंकहरुले दिएको जानकारी अनुसार मास्टर र भिजा कार्डको डेविट कार्डको मूल्य प्रतिगोटा २५० रुपैयाँदेखि ३५० रुपैयाँ र क्रेडिट कार्डको मूल्य प्रतिगोटा २५० रुपैयाँदेखि ३०० रुपैयाँ पर्छ ।

यस्तै एससीटीले दिने एससीटी युपीआई कार्डको मूल्य प्रतिगोटा २५० रुपैयाँ पर्छ ।

यो मूल्य अनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाले कति कार्ड जारी गरेको छ, त्यसका आधारमा ती कार्ड प्रतिस्थापन गर्न लाग्ने लागत तय हुनेछ ।

यस्ता कार्डमध्ये डेविट कार्डको मूल्य प्रतिगोटा ३०० रुपैयाँ लाग्ने मान्दा अहिलेको संख्या ५५ लाख ८३ हजारको १ अर्ब ६७ करोड ४९ लाख रुपैयाँ पर्छ । यस्तै क्रेडिट कार्डको संख्या ७५ हजारको २ करोड २५ लाख रुपैयाँ पर्ने देखिन्छ ।

लागत यतिमा मात्रै सिमित हुँदैन । पुरानो प्रविधि अनुसारका एटिएम मेसिनमा नयाँ प्रविधिका कार्ड संचालन नहुन सक्छन् । केही एटिएम मेसिनमा प्रविधि स्तरोन्नति गर्नुपर्ने हुन्छ ।

बैंकहरुले दिएको जानकारी अनुसार पुरानो मेसिनमा प्रविधि स्तरोन्नति गर्दा सफ्टवयर र हार्डवयर स्तरोन्नतिको गरी ३ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म पर्छ । नयाँ मेसिन नै किन्नु पर्ने अबस्थामा नयाँ प्रविधिसहितको (युएमबी कम्प्लायन्स पूरा भएको) एटिएम मेसिनको मूल्य ७ लाख रुपैयाँदेखि ८ लाख रुपैयाँसम्म पर्छ । नयाँ यस्तो मेसिनमा पनि थप डेढ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म खर्च हुने बैंकर्स बताउँछन् ।

राष्ट्र बैंकले दिएको जानकारी अनुसार गत असोज मसान्तसम्ममा नेपालमा २२८७ वटा एटिएम मेसिन छन् । यस्ता सबै मेसिनको प्रतिस्थापन गर्न वा प्रविधि स्तरोन्नति गर्नको लागि औसतमा ५ लाख रुपैयाँ लाग्ने मान्ने हो भने यसको कूल खर्च १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ लाग्ने देखिएको छ ।

यो तथ्यांक अनुसार अहिले संचालनमा रहेका एटिएम कार्ड र एटिएम मेसिन स्तरोन्नति वा प्रतिस्थापन गर्न बैंक तथा वित्तीय संस्थाहरुले २ अर्ब ८४ करोड रुपैयाँभन्दा बढी लगानी गर्नुपर्ने देखिन्छ । तर, यसमध्ये कार्डमा गरिएको १ अर्ब ६९ करोड ७४ लाख रुपैयाँ भने बैंकका ग्राहको थाप्लोमा आइपर्नेछ ।


क्लिकमान्डु