गगन थापाले भने ‘श्रीमान हामीलाई पनि मानहानीको मुद्दा लगाईयोस्’ भिडियोसहित



काठमाडौं ।  नेपाली कांग्रेसका नेता गगन थापाले डा गोविन्द केसीलाई अदालतको मानहानी मुद्दा लाग्ने भए आफूलाई मुद्दा लगाउन प्रधानन्यायाधीसामु चुनौती दिएका छन् ।
सोमबार पक्राउ परेका केसीको समर्थनमा माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सम्बोधन गर्दै नेता थापाले चुनौती दिएका हुन् । ‘जुन आरोप लगाएर केसीलाई पक्राउ गरियो, यहाँ उपस्थित सबैलाई सोही आरोपमा पक्राउ गरियोस,’ उनले भने । सम्मानित अदालतप्रति सम्मान रहे पनि न्यायाधीशको भ्रष्ट प्रवृत्तिका कारण न्यायालयमाथि सधैं प्रश्न उठ्ने गरेको उनको भनाइ थियो ।

उनले थपे, ‘श्रीमान, डा गोविन्द केसीलाई मानहानी लाग्छ भने हामी सबैलाई मानहानी लगाइयोस,’ तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालको स्मरण गर्दै उनले अदालतबाहिरको नाराकै कारण आफूहरुलाई राजद्रोहको मुद्दा नलागेको बताए ।
‘अदालतमा बहस चलिरहँदा मैले भनेको थिएँ, बाहिर के नारा लागिरहेको छ सुन्नुस् । नारा लागिरहेको  थियो  (ज्ञाने चोर देश छोड) ।

त्यसपछि बहस गरिरहनुभएका सुवास नेम्वाङले ‘गगनलाई मानहानी लाग्छ भने बाहिरका सबैलाई लगाउनुस’ भनेपछि हामीलाई तारेखमा छाडिएको थियो,’ उनले भने । केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले उनले उठाएका मागबारे गम्भीर छानबिन गर्न पनि आग्रह गरे ।


क्लिकमान्डु