बानेश्वरको ट्रान्सफर्मरले लोड नलिदा लोडसेडिङ !



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको बानेश्वर सवस्टेशनमा जडान गरिएको नयाँ ट्रान्सफर्मरले लोड लिन नसक्दा विगत ३ दिनदेखि बानेश्वर, कोटेश्वर , चावहिल, भक्तपुरमा लोडसेडिङ हुन पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार बानेश्वरको सबस्टेशनमा रहेको १८ एमबिएको ट्रान्सर्फमर फेरिएको र उक्त ट्रान्सफर्मरले लोड लिन समय लगाएका कारण भक्तपपुरलगायतका स्थानमा लोडसेडिङ भएको बताए ।

वैकल्पिक व्यवस्था गरेर भएपनि ती क्षेत्रमा विद्युत् दिन खोजेको प्राधिकरणले लोड व्यवस्थापन गर्न नसक्दा समस्या आएको हो ।

‘हामीले वैकल्पिक उपायका बारेमा पनि सोच्यौ र कार्यान्वयन गर्न खोज्यौ, तर त्यो उत्तम विकल्प देखिएन । अन्य सुवस्टेशनबाट विद्युत् दिदा झन् समस्या आउने र प्रसारण प्रणालीमा नै समस्या आउने देखियो’ घिसिङले भने ।

बानेश्वरमा रहेको १८ एमभिएको ट्रान्सर्फमर पुरानो भएपछि प्राधिकरणले सोही क्षमताको ट्रान्सर्फमर जडान गरेको छ । तर ट्रान्सफर्मरलाई लोड दिन कम्तीमा पनि २४ घन्टा समय लाग्ने बताइएपनि हालसम्म पूर्ण रुपमा लोड लिइसकेको छैन ।

ट्रान्सफर्मरलाई पूर्ण रुपमा लोड धान्ने बनाउन उसलाई समान्य भोल्टेजमा विद्युत् प्रवाह गर्नुपर्ने हुन्छ । सो कार्य जारी छ । हालसम्म करिब ७० प्रतिशत लोड लिएको प्राधिकरणको भनाइ छ । आज दिनभर ट्रान्सफर्मरलाई लोड दिएपछि सम्पूर्ण रुपमा समस्या हट्ने बताइएको छ ।


क्लिकमान्डु