बिद्युत् बिभागले माग्यो ऊर्जा प्रबर्द्धकसँग प्रगति विवरण, नबुझाए कारवाही गर्ने चेतावनी



काठमाडौं । विद्युत् उत्पादनको अनुमतिपत्र लिएर प्रगति विवरण नबुझाएका जलविद्युत् आयोजनाका प्रबर्द्धकलाई कडा नीति अख्तियार गर्ने भएको छ ।

जलविद्युत् आयोजनाको अनुमतिपत्र लिएर काम गरिरहेका प्रबर्द्धकले तोकिएको समयमा प्रगति प्रतिवेदन नबुझाएपछि विद्युत् विकास विभागले सूचना मार्फत तत्काल प्रगति प्रतिवेदन बुझाउन भनेको हो ।

तोकिएको समयभित्र प्रतिवेदन नबुझाए कारवाही गर्ने विभागले जनाएको छ ।

विभागले गत फागुनमा पनि यस्तै सूचना जारी गरी आयोजनाको प्रगति विवरण बुझाउन प्रबर्द्धकहरुलाई आग्रह गरेको थियो ।

विभागले कुल ३५ आयोजनालाई उत्पादन अनुमति दिएको छ । ती आयोजनाको क्षमता ४ हजार १९२ मेगावाट रहेको छ ।

अनुमति लिएर सर्वेक्षण गरिरहेका, निर्माणमा रहेका तथा निर्माणमा जाने तयारीमा रहेका कुल ४५ आयोजनालाई विभागले गत फागुनामा प्रगतिको बारेमा जानकारी दिन १५ दिने सूचना मार्फत आग्रह गरेको थियो ।

विभागको आग्रहपछि केही आयोजनाले विवरण बुझाए भने केहीले अटेर गरे । केही प्रबर्द्धकले भने आयोजनाको अनुमतिपत्र लिने र काम नगर्ने प्रवृत्ति बढेको भन्दै विभागले प्रगति विवरण पेश गर्न आग्रह गरेको हो ।

आयोजनाको अनुमतिपत्र लिदा तोकिएको समयमा आयोजनाको प्रगति बुझाउने शर्त राखिएको हुन्छ । उत्त शर्त पालना नगरे आयोजनाको अनुमतिपत्र समेत खोस्ने अधिकार विभागसँग रहन्छ । हरेक ६/६ महिनामा प्रबर्द्धकले प्रगति प्रतिवेदन विभागलाई बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

विभागले शर्तअनुसार बुझाउनुपर्ने प्रतिवेदन समयमै नबुझाएका कारण पुन प्रगति प्रतिवेदन बुझाउन सूचीत गरेको महानिर्देशक सञ्जिव सिंहले बताए । नियमअनुसार सर्वेक्षण अनुमति लिएको दुई वर्षभित्र सम्पूर्ण प्रतिवेदन बुझाउनुपर्ने हुन्छ । तर, प्रबर्द्धकले विभागलाई नै अटेर गर्ने, आयोजनाको अवस्थाका बारेमा जानकारी नदिने तथा प्रगति भए नभएको समेत जानकारी नहुने भएपछि कडा रणनीति अख्तियार गर्न लागिएको हो ।

खोलामा झोला हालेर सौदाबाजी गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउन विभागले यस्तो कदम चाल्न लागेको बताइन्छ । राम्रो काम गर्ने, समय समयमा प्रतिवेदन बुझाउने र देशको आवश्यकतालाई ख्याल गरेर समयमा नै आयोजना बनाउनेलाई सहयोग गर्ने बताउँदै विभागले अनुमतिपत्र लिएर काम नगर्नेलाई भने कारवाहीको दायरामा ल्याउने लक्ष्यका साथ सूचना प्रकाशित गरेको बताइएको छ ।

विभागले आगामी १५ दिन भित्र विद्युत् उत्पादनको अनुमतिपत्र लिएका आयोजनालाई प्रगति विवरण बुझाउन भनेको हो । विभागले कुल ३५ आयोजनालाई उत्पादन अनुमति दिएको छ । ती आयोजनाको क्षमता ४ हजार १९२ मेगावाट रहेको छ ।


क्लिकमान्डु