बूढीगण्डकी आयोजनामा मुआब्जा लिन निवेदन दिनेको भीड




बेनिघाट, गोरखा । गोरखा सिम्जुङकी ३५ वर्षीया सुकमाया गुरुङ बूढीगण्डकी जलविद्युत् आयोजनाको कार्यालय घ्याल्चोक सिउरेनीटार पुगेर फर्किइन् । उनी आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि निवेदनसहित कागजपत्र पेश गर्न गएकी हुन् ।

घर फर्कंदै गर्दा खुशी हुँदै उनले भनिन्, ‘बूढीगण्डकीबाट बिजुली निकाल्न जग्गा दिएकी छु, आयोजना बनेपछि शेयर र रोजगारी पाइन्छ की भने आशा छ ।’

यस्तै, गोरखाका व्यापारी शीतलकाजी मास्के पनि आफ्नो नाउँमा फुजेलमा रहेको जग्गाको मुआब्जा लिने प्रक्रियाका लागि सिउरेनीटारस्थित बूढीगण्डकीको कार्यालयमा पुगे । आयोजना समयमै निर्माण गर्न दबाब दिनुपर्ने उनको भनाइ छ । स्थानीय बासिन्दाको पुनःबासका लागि छिटो योजना सार्वजनिक गर्दै आयोजनासम्बन्धी भ्रम चिर्न सक्नुपर्ने मास्केको भनाइ छ ।

गुरुङ र मास्के मात्रै होइनन्, आयोजनाको सिउरेनीटारस्थित कार्यालयमा गोरखा र धादिङका बूढीगण्डकी डुबान क्षेत्रका बासिन्दा नागरिकताको फोटोकपी, सक्कल लालपुर्जा, राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने प्रयोजनका लागि चाहिने कागजातसहित मुआब्जाका लागि निवेदन दिइरहेका छन् ।

आयोजनाका उपसचिव माधवप्रसाद अधिकारी निवेदन पेश गर्न आएका गोरखा र धादिङका बूढीगण्डकी प्रभावितका समस्याका गाँठा फुकाइरहेका छन् । सिउरेनीटार क्षेत्रमा विद्युत् अनियमितताका कारण फोटोकपीलगायत सुविधा भनेका बेला नहुँदा स्थानीय बासिन्दाले समस्या खेप्नुपरेको छ ।

‘एउटा व्यक्तिको काजगात मिलाएर पेश गर्न कम्तीमा एक घण्टा लाग्छ,’ उनले भने । आयोजनाका कर्मचारी कार्यालयमा आवश्यकताअनुसार कोठा नहुँदा दिनभरजसो घाम तापेरै काम गर्नुपर्ने बाध्यता छ ।

मुआब्जा रकम माग गर्दै अहिलेसम्म गोरखाको फुजेल र धादिङको चैनपूरका गरी एक हजार सात सय प्रभावितले निवेदन पेश गरेका छन् । दोस्रो चरणमा गत मंसिर दुई गते सूचना जारी गरेका गोरखातर्फका फुजेल, नाम्जुङ र बुंकोटका साथै धादिङतर्फ गत मंसीर तीन गते सूचना जारी गरिएका चैनपुर र ज्यामरुङका स्थानीय बासिन्दा अहिले धमाधम निवेदन बुझाउन थालेका छन् ।

निवेदन दिने समय माघ २० गतेसम्म तोकिएको छ । त्यसभन्दा पछि बुझाएका निवेदन पनि लिइने आयोजनाले जनाएको छ । नाम निस्किएका प्रभावितले मुआब्जा माग गर्दै पेश गरेका निवेदन, लालपुर्जा मालपोत कार्यालय, नापी कार्यालयमा पठाएर दाखिला खारेज गरेपछि सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयमा फाइल पठाइने आयोजनाका उपसचिव अधिकारीले बताए । जग्गाधनीको नाउँमा राष्ट्रिय बाणिज्य बैंकमा खोलेको खातामा मुआब्जा रकम उपलब्ध गराइनेछ ।

पहिलो चरणमा गोरखाको घ्याल्चोक, दर्बुङ र भुम्लिचोकको सूचना जारी गरिएको थियो । त्यहाँका नौ सय जनाले मुआब्जा रकम बुझेका छन् । छुट तथा गुनासो रहेका निवेदनउपर यो साताभित्रमा मुआब्जा वितरण गरिसक्ने आयोजनाले जनाएको छ ।

पहिलो चरणमा धादिङको सलाङ, मैदी र खरीका एक हजार एक सय जनाले मुआब्जा रकम लिइसकेका छन् भने ६ सयभन्दा बढीको निवेदनबारे टुङ्गो लाग्न बाँकी छ ।

बूढीगण्डकी आयोजनाले गोरखा र धादिङका बूढीगण्डकी प्रभावितलाई अहिलेसम्म ४ अर्ब ४४ करोड रुपैयाँ मुआब्जा रकम वितरण गरिसकेको जनाएको छ । आयोजनाका उपसचिव अधिकारीका अनुसार गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङका नौ सय जनालाई २ अर्ब १४ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको छ । धादिङका सलाङ, मैदी र खरीका एक हजार एक सय जनालाई २ अर्ब ३० करोड रुपैयाँ उनीहरुको बैंक खातामार्फत मुआब्जा बितरण गरिएको छ ।

‘अब मुआब्जा वितरणका लागि आयोजनामा १० अर्ब ५६ करोड रुपैयाँ बाँकी छ,’ अधिकारीले भने । दोस्रो चरणमा गोरखाको फुजेल, नाम्जुङ र बुंकोटका साथै धादिङको चैनपुर र ज्यामरुङका बूढीगण्डकी प्रभावितलाई मुआब्जा बितरण गर्ने तयारी छ ।

‘पहिलेकै ५६ करोड रुपैयाँ हामीसँग मौज्दात छ, यस वर्ष आएको १० अर्ब रुपैयाँ पनि बाँकी नै छ,’ अधिकारीले भने ।

बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाले गोरखातर्फका साबिक १४ र धादिङतर्फका साबिक १३ वटा गाविस प्रत्यक्ष रुपमा प्रभावित पार्नेछ ।

गोरखाको आरुघाट बजार र धादिङको खहरे बजारको मुआब्जा के कति निर्धारण गर्ने भन्नेबारे अध्ययन भइरहेको भए पनि निर्धारण गर्न बाँकी छ । अन्य क्षेत्रको मुआब्जा भने यसअघि नै निर्धारण भइसकेको छ । जग्गा हेरेर प्रतिरोपनी ५ लाख २५ हजार रुपैयाँदेखि ८ लाख ३५ हजार रुपैयाँसम्म दिने गरी मुआब्जा निर्धारण गरिएको छ । रासस


क्लिकमान्डु