मध्यत्रिशूली गंगा जलविद्युत आयोजनाको इआइए स्वीकृत नगर्न स्थानियको दबाब



रसुवा । परम्परादेखि उत्तरगया धामका रुपमा परिचित बेत्रावती तटमा रहेको त्रिशूली नदीको जल सुकाई विद्युत् उत्पादनका लागि स्वीकृति दिन लागेको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् ।

जनसंख्या तथा वातावरण मन्त्रालयले आयोजना गरेको ‘वातावरणीय असर र न्यूनीकरणका लागि उपाय’ विषयक हालै सम्पन्न छलफल कार्यक्रमका सहभागीले आवाज उठाउँदै सबै शास्त्रले प्रमाणित गरेको उत्तरगया धामको गंगाजल अन्यत्र लगी विद्युत् उत्पादन गर्ने प्रस्तावको वातावरणीय प्रभाव (इआइए) स्वीकृत नगर्न वातावरणविद्समक्ष आग्रह गरेको कालिका गाउँपालिकाका अध्यक्ष सीता अधिकारीले बताए ।

जनताको सहमति बेगर मध्यत्रिशूली गंगाको नामबाट गोसाइँकुण्डबाट प्रवाह भएको बेत्रावतीस्थित रसुवा क्षेत्रको त्रिशूली नदीको जल नुवाकोटको भू–भागमा लगी १९४१ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न प्रस्ताव अगाडि बढेपनि भगवान् शंकरले बेदको लठ्ठी गाडेर जलसमेत उत्पन्न गराएको किँवदन्ती भएको स्थल र हरेक पर्वमा हजारौँ हजार मानिस स्नान र पितृतर्पण गर्न आउने धामको जल एक इन्च पनि घटाउन नपाइने स्थानीयवासीले बताएका छन् ।

रसुवा तथा नुवाकोटका आधार इलाकामा पर्ने उत्तरगया धामको देशैभरका मानिस पितृतर्पण गर्न आउने र नुवाकोटको तुप्चे, साहुगाउँ, ताजी, सातदोबाटो, गेर्खु, चोगते, बोहरे, रसुवाको लहरे, बेतिनी, भदौरे, रुप्सेपानी, धुसेनी, जिवजिवे, भोर्ले, समरथली, धैबुङ मनीगाउँ, कटुञ्जेसमेतका गाउँलेका दिवंगतलाई दाहसंस्कार गर्ने प्रमुख थलो रहेकाले यस्तो थलोको संरक्षणमा लाखौँ बासिन्दा अगाडि बढिसकेको उत्तरगया धाम संरक्षण समितिले जनाएको छ ।

यस्तै, छलफल कार्यक्रममा विज्ञहरुले वातावरणको महत्व बुझाउँदै क्षति न्यूनीकरणमा समन्वय  गर्नुपर्ने कार्यको तौरतरिका सिकाएका थिए भने गोसाइँकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले वातावरणीय मूल्यांकन छिटोछरितो स्वीकृत गरी समृद्ध र समुन्नत जिल्ला बनाउने कार्य सहज पारिदिन आग्रह गरे ।

सहभागीबाट उठेको प्रश्नको जवाफ दिँदै जनसंख्या तथा वातावारण मन्त्रालयका सहसचिव रामेश्वर दंगालले, धार्मिक महत्व, जनताको चाहना, आवश्यकता र औचित्य बेगरका आयोजना स्वीकृत नगर्ने र वातावरण संरक्षण नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्दै अगाडि लाने प्रक्रिया अघि बढेको बताए ।


क्लिकमान्डु