दिनभरि बल्छन् तराईका सडक बत्ती, कसले निभाउने भन्नेमा बिबाद



काठमाडौंं । अँध्यारोको अन्त्यका लागि बिजुली बालिन्छ । यो सामान्य कुरा हो तर तराई मधेशका विभिन्न जिल्लामा राति मात्रै बाल्नुपर्ने बिजुली दिनभर पनि बलिरहेको हुन्छ भन्ने सुन्दा र देख्दा तपाईलाई कस्तो लाग्छ ? तर यो यथार्थ हो ।

तराई मधेशका नगरपालिकाले रातको समयमा उज्यालोका लागि राखिएका बत्ती दिनभरि बलिरहेको पाइएको छ । प्राधिकरणको हेटौँडा क्षेत्रीय कार्यालयअन्तर्गतका भरतपुर तथा वीरगञ्ज महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, गौर, कलैयालगायत नगरपालिकाले विद्युत्को खम्बामा झुण्ड्याइएका सडक बत्तीका बल्ब दिनभर बलिरहेका हुन्छन् । धेरै ठाउँमा बत्ती बाल्न तथा निभाउन स्विचसमेत राखिएको छैन ।

जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतका जनकपुर उपमहानगरपालिका, जलेश्वर नगरपालिका, मलंगवालगायत नगरपालिकाले राखेका सडक बत्ती दिनभर बलिरहेका छन् । सडक बत्ती राति मात्रै बालिने भएकाले त्यस्ता सडक बत्तीको १२ घण्टाको मात्रै बिलिङ हुने गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने मुख्य तथा भित्री सडकमा बत्ती राख्ने तर त्यसलाई ननिभाउँदा बिजुली चुहावट भइरहेको छ ।

सडक बत्तीबाट विद्युत् चुहावट भइरहेको र राजस्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ती निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् ।

यसबाट प्राधिकरणले करोडौँ रुपैयाँ राजस्व गुमाइरहेको छ । जनकपुरजस्ता क्षेत्रमा अनावश्यक बिजुली बल्दा अन्य क्षेत्रमा आपूर्ति पुगेको छैन । दिनभर सडक बत्ती बल्दा उत्पादनमा दवाव पर्छ भने अर्कातर्फ भारतबाट बढी आयात गर्नुपर्छ ।

“निर्वाचित जनप्रतिनिधि आएपछि सडक बत्ती राख्न प्रतिस्पर्धा नै चलेको छ तर हामीसँग समन्वय नै नगरी हचुवाको भरमा जथाभावी रुपमा सडक बत्ती राखिएको छ, निभाउन तथा बाल्न स्विचसमेत राखिएको छैन”, जनकपुर क्षेत्रीय कार्यालयले जनाएको छ ।

सो कार्यालयले किन यस्तो गरियो भनेर प्रमुख/उपप्रमुखलाई सोध्यो, तर उत्तर भने “हामी निर्वाचित प्रतिनिधि हौँ, यस्तो अधिकार छ भन्नुहुन्छ, उहाँहरुको अगाडि हामी निरीह बन्नुपर्ने अवस्था छ ।” सडक बत्तीबाट विद्युत् चुहावट भइरहेको र राजस्वसमेत गुमिरहेको पाइएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दिनभर बल्ने सडक बत्ती निकाल्न सम्बन्धित क्षेत्रीय कार्यालय र वितरण केन्द्रका प्रमुखलाई निर्देशन दिएका छन् ।

घिसिङले जनकपुर तथा हेडौँडा क्षेत्रीय कार्यालयअन्तर्गतका वितरण केन्द्रको आइतबार, सोमबार र मंगलबार स्थलगत निरीक्षण गरेका थिए । “त्यस क्षेत्रका नगरपालिकाले राखेका सडक बत्ती दिनभर बल्दा रहेछन्, यसबाट एकातर्फ प्राधिकरणले राजस्व गुमाएको छ भने अर्कोतर्फ ऊर्जा खेर गइरहेको छ”, उनले भने ।

“दिउँसो बत्ती निभाउन नगरपालिका र त्यहाँका बासिन्दासमेतले पहल गर्नुपर्यो, अब त्यस्ता बत्ती निकाल्न अभियान नै शुरु गरिसकेका छौँ ।” उनले दिउँसो बलिरहने सडक बत्ती निभाइदिएर ‘उज्यालो नेपाल’ अभियान सफल बनाउन सहयोग गरिदिन आग्रहसमेत गरे ।

सडक बत्ती दिनभर बल्ने सबैभन्दा ठूला समस्या जनकपुरमा छ । जनकपुर वितरण केन्द्रको विद्युत् चुहावटमा सडक बत्तीको हिस्सा करिब एक प्रतिशत रहेको अनुमान गरिएको छ । जनकपुर वितरण केन्द्रको कार्यालय अगाडि नै राखिएको सडक बत्ती दिनभर बलिरहन्छ । त्यसलाई न त जनकपुर उपमहानगरपालिकाले निभाउँछ न प्राधिकरणका कर्मचारीले नै ।

स्विच राखिएको ठाउँका सडक बत्तीसमेत दिनभर बलिरहने गरेको जनपुर क्षेत्रीय कार्यालयका प्रमुख सच्चिदानन्द यादवले स्वीकार गरे । उनले भने, “सडक बत्ती निभाउन भनिरहेका छौँ तर हाम्रो प्रयास प्रभावकारी हुन सकिरहेको छैन ।”

“प्रमुख÷उपप्रमुखलाई अनुरोध गर्यौँ, गर्दैछौँ भन्नुहुन्छ तर अहिलेसम्म नतिजा देखिएको छैन”, हेडौँडा क्षेत्रीय कार्यालयअन्तर्गतको सडक बत्तीको बक्यौता रु ७१ करोड ४१ लाख छ ।

विद्युत् चुहावट १५.३९ प्रतिशत छ । प्राधिकरणले आगामी असारसम्ममा चुहावट १२ प्रतिशतमा झार्न लक्ष्य दिएको छ । यसैगरी जनकपुर क्षेत्रीय कार्यालयअन्तर्गतको सडक बत्तीको बक्यौता रु ५७ करोड १४ लाख ४८ हजार छ ।

विद्युत् चुहावट ३६.५५ प्रतिशत छ । यसलाई २५ प्रतिशतमा झार्ने लक्ष्य दिइएको छ । मन्त्रिपरिषद्ले गत असारसम्मको सडक बत्तीको बक्यौता तिरिदिने निर्णय गरेको छ । बक्यौता रकम सम्बन्धित नगरपालिका÷गाउँपालिकाले समर्थन भने गर्नुपर्ने छ । प्राधिकरणले अहिले बक्यौता रकमलाई समर्थन गरिदिन आग्रह गर्दै सम्बन्धित नगरपालिका÷गाउँपालिकालाई पत्राचार गरिसकिएको छ । रासस


क्लिकमान्डु