हिमालयन हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा, राष्ट्रपतिद्वारा उद्घाटन हुने



काठमाडौं । नेपालमा पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो २०१८ को तयारी पुरा भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको आयोजनामा यही पुस २१ गते देखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना हुने भएको हो ।

एक्स्पोको उद्घाटन राष्ट्रपति विद्यादेवि भण्डारीबाट हुने तय भएको आयोजकले जानकारी दिएका छन् । एक्स्पोको उद्घाटन कार्यक्रम यही पुष २१ गते शुक्रबार विहान ११ बजे हुनेछ । ७ वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने अपेक्षा गरिएको छ ।

राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो पावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी स्टल रहने छन् । जसमध्ये करिब ५० प्रतिशत स्टल विदेशी कम्पनीहरुको सहभागिता रहने छ ।

एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहने आयोजको भनाई छ ।


क्लिकमान्डु